पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान
इन्भेष्टाेपेपर । आश्विन ७, २०८३
काठमाण्डाैँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्दै छ ।
२०७९ पुस १७ गते अंग्रेजी नयाँ वर्षको दिनदेखि सञ्चालनमा आएको विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन । अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक सम्पूर्ण तयारी तथा पूर्वाधार व्यवस्थापनको काम पूरा भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयाे ।
उहाँका अनुसार, फ्लाई दुबईको विमान बुधबार साँझ ६ः१५ बजे पोखरा अवतरण गर्नेछ भने यात्रु लिएर साँझ ७ः१५ बजे दुबईका लागि प्रस्थान गर्नेछ । विमानलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गरिनेछ ।
अध्यागमन, भन्सार, कार्गो लगायतका सबै सेवा प्रवाहका लागि विमानस्थल तयारी अवस्थामा रहेको महाप्रबन्धक निरौलाले बताउनुभयाे । “विमानस्थलबाट प्रवाह गर्नुपर्ने सम्पूर्ण तयारीका काम पूरा भएका छन् । विमानस्थल सञ्चालनपछि केही वायु सेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान गरे पनि त्यसले निरन्तरता पाउन सकेको थिएन,” उहाँले भन्नुभयाे ।
पोखरा विमानस्थल भन्सार कार्यालयका प्रमुख हरि भण्डारीले भन्सार नियमानुसार गर्नुपर्ने सबै कामको तयारी पूरा भएको बताउनुभयाे । “राजस्व संकलन, वैध व्यापारलाई सहजीकरण तथा यात्रुको जाँचपास र निकासी–पैठारीको काम हामी गर्छौं । त्यसका लागि आवश्यक सबै तयारी र व्यवस्थापन मिलाइसकिएको छ,” उहाँले भन्नुभयाे ।
दुबई विश्वव्यापी हवाई ट्रान्जिट हबका रूपमा रहेको र फ्लाई दुबईले १२० भन्दा बढी गन्तव्यमा उडान गर्ने भएकाले पोखरा–दुबई उडान नियमित तथा दीर्घकालीन हुने आशा गरिएको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयाे ।
