उपराष्ट्रपति पुन द्वारा आठाैं राष्ट्रिय खेलकुद समापनः अर्काे संस्करण गण्डकी प्रदेशमा
२०७७ को २० देखि २७ फागुनसम्म गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुने, गण्डकीले ३७ वर्षपछि प्रतियोगिता आयोजना गर्न पाएको हो
गण्डकी प्रदेशमा भेट्ने वाचा गर्दै बिहीबार आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक रूपमा सम्पन्न भएको छ । नेपालगन्जको रंगशालामा कार्यबाहक राष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिताको समापन गरे । आठौँ राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले ५ वैशाखमा गरेकी थिइन् । २७ चैत ०७५ देखि नै आठौँ राष्ट्रिय खेलकुदका विभिन्न खेल सुरु भएका थिए । गण्डकीले दोस्रोपटक राष्ट्रिय खेलकुद आयोजना गर्न ३७ वर्ष प्रतीक्षा गर्यो ।
गण्डकीले ०४० सालमा पहिलोपटक प्रतियोगिता आयोजना गरेको थियो । समापन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले गण्डकी प्रदेश खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठलाई आयोजनाको झन्डा हस्तान्तरण गरेका थिए ।
तयारीमा लाग्न सुझाब
समापन कार्यक्रममा कार्यबाहक राष्ट्रपति पुनले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजकलाई दु्रतगतिमा तयारीमा लाग्न सुझाब दिएका छन् । ‘तपाईंहरू आजैबाट तयारीमा लाग्नुहोस्,’ कार्यबाहक राष्ट्रपति पुनले भने । पूर्वाधार पूरा नहुँदै राष्ट्रिय खेलकुद प्रतियोगिता हुने गरेको सुनेको कार्यबाहक राष्ट्रपति पुनले जनाए । खेलकुद विकासमा पूर्वाधार नै पहिलो प्राथमिकता रहेको उनको भनाइ छ । ‘पूर्वाधारको विकासविना खेलकुदको विकास हुन सक्दैन र यो अगाडि बढ्न पनि सकिँदैन,’ उनले भने ।
यसैबीच, सदस्य–सचिव विष्टले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले इतिहास रचेको बताएका छन् । ‘अठोट र संल्कप भए प्रतियोगिता गर्न सकिन्छ भन्ने उदाहरण नेपालगन्जले दिएको छ,’ विष्टले भने । यता परिषद्का उपाध्यक्षले विभिन्न समस्या भए पनि प्रतियोगिता सम्पन्न भएको बताए ।
गण्डकीको तयारी राम्रो
दुई वर्षअघि विराटनगरमा भएको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि
पनि गण्डकीले दाबेदारी प्रस्तुत गरेको थियो । त्यसवेला परिषद्का सदस्य–सचिव
केशवकुमार विष्टले आफ्नै गृहनगरमा गर्ने अडान लिएपछि गण्डकीले सो अवसर
गुमाएको थियो । गण्डकीले आसन्न १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताका
लागि समेत पूर्वाधार निर्माण कार्य अगाडि बढाइसकेको छ । राष्ट्रिय खेलकुद
प्रतियोगिता आयोजना गर्न गण्डकीमा पूर्वाधारको कुनै कमी नहुने जनाइएको छ ।
अहिले पोखरा रंगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउन निर्माण कार्य
चलिरहेको छ ।
पदक–तालिकामा आर्मी शीर्ष स्थानमा
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी शीर्ष स्थानमा रह्यो । पदकमा एकछत्र राज गरेको आर्मीले सर्वाधिक १ सय ३९ स्वर्णपदक जित्यो । आर्मीले ८१ रजत तथा ६७ कांस्यपदक हात पार्यो । समग्रमा आर्मीले २ सय ८७ पदक हात पार्यो । पदक–तालिकामा विभागीय टोलीको वर्चस्व रह्यो ।
नेपाल पुलिस क्लबले अन्तिम दिन पदकमा सुधार गर्दा दोस्रो स्थान रक्षा गरेको छ । पुलिसले ६२ स्वर्ण र ४७ रजत हात पारेको छ । समग्रमा पुलिसले १ सय ५५ पदक जितेको छ । तेस्रो स्थानमा एपिएफ क्लब छ । एपिएफले ६२ स्वर्ण र ४७ रजत जित्यो । एपिएफले ४६ कांस्य जित्दा समग्रमा २ सय १ पदक हात पार्यो । विभागीयपछि प्रदेश ३ सर्वाधिक सफल टोली बनेको छ ।
बोर्ड बैठकमा गण्डकी सर्वसम्मत
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजकको छिनोफानो राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकले गरेको हो । परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिनाको अध्यक्षतामा बसेको बैठकले नवौँ बृहत् खेलकुद गण्डकी प्रदेशमा गर्ने निर्णय गरेको हो । परिषद्का अनुसार ०७७ को फागुन २० देखि २७ सम्म पोखरामा प्रतियोगिता हुनेछ ।
युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा अनुपस्थित भएपछि तिम्सिनाले बैठकको अध्यक्षता गरेको परिषद्ले जनाएको छ । उपाध्यक्ष तिम्सिनाले नै नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजकका रूपमा गण्डकी प्रदेशलाई प्रस्ताव गरेका थिए । बैठकमा सहभागी पदाधिकारीले उपाध्यक्षको प्रस्ताव सहजै स्विकारे । यसअघि कर्णाली प्रदेशले पनि नवौँ राष्ट्रिय खेलकुद आयोजकका रूपमा दाबेदारी प्रस्तुत गरेको थियो ।
- नयां पत्रिकाबाट
