असम्भव के छ ? सम्बन्धबिच्छेद गरेको १७ दिनपछि पुन काेर्ट म्यारिज

Investopaper, असार २६, २०७६

नेपालीमाझ एउटा उखान निकै प्रचलित छ– लोग्नेस्वास्नीको झगडा परालको आगो। नभन्दै अर्घाखाँचीमा एउटा दम्पतीले यो लोकोक्ती सत्य सावित गरेका छन्। उनीहरूले सम्बन्धबिच्छेद गरेको १७ दिनपछि अर्घाखाँची जिल्ला अदालतमा आएर फेरि कोर्ट म्यारिज गरेका छन्।

अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका–१ बस्ने लिलामनी पौडेल र सोही ठाउँ बस्ने गुल्मीको छत्रकोट गाउँपालिका–१ की जमुना पौडेलले असार ५ गते जिल्ला अदालत अर्घाखाँचीबाटै सम्बन्धबिच्छेद गरेका थिए। आफन्त र दुवैको सल्लाहअनुसार कुरा मिलेपछि सम्बन्धबिच्छेद गरेको लिलामनी–जमुना दम्पतिलाई अदालतले पुनर्मिलन गराएको हो।

पौडेल दम्पतीका ६ बर्से छोरा छन् । दुवैका अभिभावकलगायत आफन्तले छोराको मुख हेरेर पनि अलग्गिन नहुने भन्दै सम्झाएपछि उनीहरूको विचार फेरिएको लिलामनीले बताए। सबैले छोराका लागि मिल्नुपर्ने भनेर सम्झाएपछि उनीहरू फेरि सम्बन्ध गाँस्न अदालत आए। बहकाउमा पारपाचुके गरेको र अहिले फेरि सँगै बाँच्ने सँगै मर्ने बाचा कसमसहित बिहे गरेको जमुनाले बताइन्।

पतिपत्नीको नाता तोडिसकेपछि उनीहरूले गरेको कोर्ट म्यारिज मुलुकी संहिता लागू भएपछि अर्घाखाँची जिल्ला अदालतमा तेस्रो भएको स्रेस्तेदार गम्भीर घिमिरेले जानकारी दिए। वैवाहिक सम्बन्ध तोडेका दम्पतीले अदालतमा आएर फेरि बिहे गरी भएको पुनर्मिलनले समाजमा सकारात्मक सन्देश जाने अपेक्षा गरिएको स्रेस्तेदार घिमिरेले बताए।

  • अन्नपूर्ण पाेस्टबाट
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *