राम-लक्ष्मणकाे आविष्कार : पहिरो आउनुपूर्व सूचनादिने सेन्सर
Investopaper, असार ३१, २०७६
निरन्तरको वर्षाले बाढी, पहिरो र ढुवानका घटना बढिरहेको अवस्थामा प्रकोपका यस्ता घटनाको पूर्व सूचना दिने ‘सेन्सर’ उपयोगी हुने देखिएको छ ।
युवा बैज्ञानिकद्वय राम–लक्ष्मण रिमालले तयार गरेको पहिरोको पूर्व सूचना प्रणाली (ल्यान्ड डिसप्लेसमेन्ट सेन्सर) को परीक्षण सफल भएपछि गोरखाका विभिन्न भेगमा प्रयोगमा आएको छ ।
राम–लक्ष्मण इनोभेसन्स्ले गोरखाको उत्तरी भेगमा अवस्थित साविकको केरौंजा गाविस (हालको चुननुब्री गाउँपालिका) र गोरखाकै उत्तरी भेगको लापुको खानीगाउँ वस्तीमा पहिरोको पूर्व सूचना दिने प्रणाली जडान गरेको हो ।
बस्ती वरिपरि गाडिने सेन्सरले जमिनमा सामान्य कम्पन हुनेबित्तिकै पहिरो प्रभावित क्षेत्रका बासिन्दालाई साइरनमार्फत अग्रिम सूचना दिने गर्छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) सँगको सहकार्यमा राम–लक्ष्मण इनोभेसन्स्ले चुननुब्रीमा तीन वर्षअघि सेन्सरको नमूना परीक्षण गरेको थियो । सो परीक्षण सफल भएपछि यसवर्ष धार्चे गाउँपालिका–७ को लापुको खानीगाउँका विभिन्न ४ ठाउँमा ल्यान्ड डिसप्लेसमेन्ट सेन्सर जडान गरेको छ ।
ताररहित (वायरलेस) प्रविधिको सेन्सरले जमिन हल्लिएलगत्तै सो सूचना मुख्य मेसिन साइरनलाई सम्प्रेण गर्ने र साइरनले ठूलो आवाजका साथ स्थानीयलाई अवगत गराउने भएकाले जनधनको क्षति न्यूनिकरणमा सहयोग गर्ने इनोभेसन्स्का सञ्चालक लक्षण रिमालले बताउनुभयो ।
‘वस्ती जति फराकिलो छ, जति बढी जनघनत्व छ, त्यहीअनुसार स्थानीयले अग्रीम सूचना थाहा पाउने सेन्सर जडान गर्न मिल्छ’, उहाँले भन्नुभयो– ‘एक किलोमिटर आसपासको भेगलाई समेट्ने गरी साइरन राख्न मिल्छ ।’
सेन्सरले दिने संकेत मोबाइल फोनमा समेत सन्देश प्राप्त हुने भए पनि उत्तरी गोरखामा मोवाइल सेवा प्रभावकारी नभएकाले स्थानीयको मोवाइलमा यस्तो सुविधा थप्न नसकिएको रिमालले प्रस्ट्याउनुभयो ।
एउटा सेन्सरलाई आठ हजार रुपियाँ हाराहारीमा तयार गर्न सकिने भएकाले विदेशबाट महंगो बजेटमा यस्ता उपकरण झिकाउन जरुरी नभएको उहाँहरूको दावी छ । नदी र जलाधार क्षेत्रको पानीको बहाव, जल सतहको यकिन सूचना प्राप्त गर्न यस्ता उपकरण प्रयोगमा ल्याउन सकिने रिमालको भनाइ छ ।
- नेपाल समाचारपत्र दैनिकबाट
