किन फरफराउँछ आँखा ? धार्मिक मान्यता र वैज्ञानिक कारण
Investopaper, श्रावण ३०, २०७६
हाम्राे समाजमा शरिरकाे कुनै पनि अंग फरफरायाे भने शुभ अशुभसंग जाेडने गरिन्छ । आँखा फरफरायो भने कुनै घटना वा खबर प्राप्तिको संकेत हो भन्ने विश्वास हाम्रो समाजमा गरिन्छ। आँखाको फरफराई पनि महिला र पुरुषमा अलग–अलग तरिकाले विश्वास गरिन्छ। कुनै समाजमा पुरुषमा दाहिने आँखा फरफरायो भने शुभ समाचारको सूचक मानिन्छ भने देब्रे आँखा फरफरायो भने अशुभ समाचारको सूचक मान्ने गरिन्छ। महिलामा भने देब्रे आँखा फरफरायो भने अशुभ समाचारको सूचकका रुपमा लिने गरिन्छ।
यी र यस्तै रूढिबादी वा धार्मिक मान्यता जे भए पनि आँखा फरफराउनु पूर्णत वैज्ञानिक कारणसंग जोडिएको कुरा हो। यसमा आँखाको परेला फरफराउँछ। यो फरफराई केही सेकेण्डसम्म या केही घण्टासम्म जारी रहन्छ। कसै कसैमा हप्तौंसम्म पनि जारी रहेको पाइन्छ।
अधिकांशमा तल्लो परेला फरफराउने गरेपनि कसै कसैमा भने माथिल्लो आँखा पनि फरफराउने गर्छ। यसको वास्तविक कारण थाहा नभएपनि सुख्खा आँखा, प्रकाश सवेदनशिल आँखा, तनाव, थकान, क्याफिनको प्रयोग, अल्कोहल, पोषक तत्वको कमी तथा एलर्जी आदिका कारणले आँखा फरफराउँछ। यो कुनै गम्भीर समस्या होइन।
यस्ता छन आँखा फरफराउनुका वैज्ञानिक कारणहरूः
तनावका कारण : जब हामी कुनै तनावमा हुन्छौं, हाम्रो शरीरले विभिन्न तरिकाले प्रतिक्रिया जनाउँछ। आँखा फरफराउनु पनि तनावको एउटा भाग हुन सक्छ। तनावलाई कम गर्नु नै आँखा फरफराउन रोक्ने उपाय हो।
थकान : तनाव तथा अन्य कारणबाट उत्पन्न अनिद्राले आँखाको परेलामा ऐंठन पर्छ।
आँखा दुखाई : दृष्टिसंग सम्बन्धित तनावले पनि आँखाको परेला फरफराउँछ। खासगरी, आँखालाई बढी तनाव हुने गरी काम गर्दा यस्तो हुन सक्छ।
क्याफिन र अल्कोहल : विज्ञहरुका अनुसार क्याफिनको प्रयोग (चिया, कफी) बढीमात्रा गरिएमा र अल्कोहल बढी सेवन गरेमा आँखा फरफराउने समस्या देखिन्छ।
सुख्खा आँखा : बुढ्यौली लाग्दै जाँदा अधिकांश मानिसले आँखा सुख्खा हुने समस्या भोग्छन्। कम्प्युटरको बढी प्रयोग गर्ने, एन्टिहिस्टामिन या एन्टिडिप्रेसान्टका औषधि बढी प्रयोग गर्ने, कन्ट्याक्ट लेन्स प्रयोग गर्ने र क्याफिन तथा अल्कोहल प्रयोग गर्नेहरुमा सुख्खा आँखाको समस्या हुन्छ। यस्ता व्यक्तिका आँखा बढी फरफराउँछ।
पोषकतत्वको असन्तुलन : म्याग्नेसियमजस्ता केही पोषक तत्वको कमी हुँदा पनि परेला फरफराउँछ। यद्यपि यो कुरा अहिलेसम्म वैज्ञानिक रुपमा पुष्टि हुन सकेको छैन।
एलर्जी : आँखाको एलर्जी हुने, रातो हुने, सुन्निने या आँसु बढी आउने मानिसको आँखा फरफराउँछ। त्यसैले आँखा फरफराउने समस्या बढी देखिन थाल्यो भने तत्काल नेत्र चिकित्सककहाँ गइहाल्नुहोस्।
— एजेन्सी
