‘भेइकल ट्रयाकिङ सिस्टम’मा सत्ताइस हजार एकाउण्ट, तीन लाख ५० हजार सवारी इन्ट्री

Investopaper, भाद्र ०८, २०७६

काठमाडौँ — राजश्व चुहावट रोक्न सरकारले प्रविधिको प्रयोग गरी मालसामान ढुवानी गर्दा राजश्व अनुसन्धान विभागको केन्द्रीय सूचना प्रणालीमा अनिवार्यरुपमा प्रविष्ट गराउने कार्य गत साउनदेखि लागू ग¥यो ।

उक्त प्रणालीलाई ‘भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम’ भनिन्छ । व्यवसायीले एक ठाउँबाट अर्को स्थानमा व्यावसायिक प्रयोजनका लागि मालसामान ओसारपसार गर्नुपूर्व ढुवानी गरिने मालसामानको विवरण विभागको केन्द्रीय सूचना प्रणालीमा इन्ट्री गरेर मात्र ओसारपसार गर्नुपर्ने हुन्छ ।

भेहिकल ट्रयाकिङ सिस्टम’मा जानका लागि शुरुमा व्यवसायीहरुले एकाउन्ट खोल्नुपर्छ । विभागका अनुसार अहिलेसम्म २७ हजार बढीको एकाउन्ट बनिसकेको छ । अहिलेसम्म तीन लाख ५० हजार सवारी इन्ट्री भइसकेको छ । दैनिक झण्डै हजारौँ गाडीले सिष्टममा प्रविष्ट गरेर मालसामान ढुवानी गर्ने गरेको छ ।

उक्त प्रावधान लागू भएपछि केही दिन व्यवसायीले यो प्रणालीको विरोध जनाउँदै तत्काल लागू नगर्न दबाब नदिएका होइनन्, तर अहिले व्यवसायीहरु धमाधम प्रणालीमा प्रवेश गर्न थालेका छन् । राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले शुरुमा व्यवसायीले नबुझेकाले समस्या आएको बताउँदै छलफल गरेपछि भने प्रविधिको प्रयोग प्रभावकारी हुँदै गएको जानकारी दिनुभयो । यसका लागि व्यवसायीले आफ्नो खाता खोल्नुपर्छ । उनीहरु आफैँले यूजर आइडी र पासवर्ड हालेर प्रयोग गर्न सक्छन् । व्यवसायीले सामान इन्ट्री गरेपछि विभागले जुनसुकै स्थानबाट हेर्न सक्छ ।

“अहिलेसम्म ९५ प्रतिशत व्यवसायीले सिष्टममा इन्ट्री गराइसकेका छन्, बाँकीलाई पनि इन्ट्री गराउने प्रयास भइरहेको छ”, मैनालीले भन्नुभयो । यसरी प्रविष्ट गराएपछि कुन गाडीले कति सामान लिएर कहाँबाट हिँड्यो, कहाँ पुग्यो र कहाँ लगेर सामान झार्यो भनेर निगरानी गर्न सकिन्छ । जसका कारण राजश्व छली नियन्त्रण हुने विश्वास छ ।

‘भेहिकल ट्रयाकिङ सिस्टम’मा जानका लागि शुरुमा व्यवसायीहरुले एकाउन्ट खोल्नुपर्छ । विभागका अनुसार अहिलेसम्म २७ हजार बढीको एकाउन्ट बनिसकेको छ । अहिलेसम्म तीन लाख ५० हजार सवारी इन्ट्री भइसकेको छ । दैनिक झण्डै हजारौँ गाडीले सिष्टममा प्रविष्ट गरेर मालसामान ढुवानी गर्ने गरेको छ । केही साना व्यवसायी सिष्टममा नआएकाले उनीहरुलाई ल्याउने प्रयास जारी रहेको विभागका निर्देशक राजीव पोखरेल बताउनुहुन्छ ।

सरकारले साउन १ गतेदेखि सामान सूचना प्रणालीमा प्रविष्ट गराएर मात्रै ढुवानी गर्नुपर्ने व्यवस्था गरेको हो । उक्त प्रणालीको प्रयोग गर्न नजानेका झण्डै दुई हजार व्यवसायीलाई विभागले प्रशिक्षणसमेत दिइसकेको छ । यो क्रम जारी रहेको र तीन महीना भने प्रचारात्मक कार्यक्रमलाई नै तीव्रता दिने विभागको भनाइ छ । विरोध जनाएका व्यवसायीलाई बोलाएरै विभागले छलफल गरी उक्त प्रणालीको बारेमा जानकारी दिएको थियो । शुरुमा ट्रक व्यवसायीले विरोध जनाएर केही दिन ढुवानी रोकिएको थियो ।

“शुरुमा नबुझेर केही कुराहरु बाहिर आएको रहेछ उहाँहरुसँग छलफल भयो, यो त ट्रकवाला वा चालकले गर्नुपर्ने काम हुँदै होइन, यो त त्यस्ता मालसामान ढुवानी गर्ने फर्म, उद्योग वा कम्पनीले गर्ने काम हो भनेर सम्झाएपछि उहाँहरु सम्झिएर जानुभयो, अहिले सबै ठिक छ”, महानिर्देशक मैनालीले भन्नुभयो ।

यसको मुख्य उद्देश्य नक्कली बिल–बिजक जारी गरी वा भन्सार छलेर अर्बौँको राजश्व चुहावट गर्ने तथा विभिन्न तरिकाले हुने आर्थिक अपराध रोक्नु नै हो । गत वर्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतमा आएको विभागले आर्थिक अनुशासन कायम गरी तस्करी नियन्त्रण गर्ने ‘सफ्टवेयर’ प्रणालीको प्रगोग गरी ढुवानी विवरण अनलाइनबाटै अनुगमन गर्न थालेको छ ।

नेपाल सरकार राजश्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन २०५२ मा एक ठाउँबाट अर्को स्थानमा व्यावसायिक प्रयोजनका लागि मालसामान ओसारपसार गर्नुपूर्व ढुवानी गरिने मालसामानको विवरण राजश्व अनुसन्धान विभागको ‘भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम’मा आधारित केन्द्रीय सूचना प्रणालीमा समावेश गरेर मात्र ओसारपसार गर्नुपर्ने प्रावधान छ । सोही व्यवस्थाअनुसार असार २३ गते राजपत्रमा सूचना प्रकाशित गरी सरकारले साउनबाट उक्त व्यवस्था लागू गरेको हो ।

भन्सार विन्दुबाटै मालसामान लिएर हिँड्दा थोक वितरकले मालसामान बिक्री गर्नु पहिला गाडी नम्बर, चालक, सामानको प्रकृति, खरीदकर्ता, बिल मूल्य ९कोडसहित० विभागको वेवसाइटमा प्रविष्ट गराउनुपर्छ । यति गरेपछि पहिलेजस्तो कागज बोकेर हिँडिरहनु पर्दैन । पहिले हरेक भन्सार प्वाइन्टमा देखाउनु पर्दथ्यो । अब त्यो झन्झट पनि हटेको छ ।

तर विभागको टोलीले कुनै पनि ठाउँमा छड्को जाँच गर्ने भएकाले यसरी प्रविष्ट नगर्नेहरु भने कारवाहीमा पर्नेछन् । “पहिले कुन–कुन चेक प्वाइन्ट छ भन्ने थाहा थियो, त्यो प्वाइन्ट छलेपछि छलिन्थ्यो, अब हाम्रो टोली कहाँ बस्छ थाहै हुँदैन, जसले गर्दा चुहावट रोक्न सहयोग गर्छ”, महानिर्देशक मैनालीले भन्नुभयो ।

इन्ट्री नगरेकालाई कारवाही

उक्त प्रणाली लागू गरे÷नगरेको बारे अनुगमनमा विभागले कडाइ गरेको छ । केन्द्रीय सूचना प्रणालीमा इन्ट्री नगरेकालाई पहिलो चरणमा सम्झाएर छाडिएको छ । तर इन्ट्री पनि नगर्ने र आवश्यक कागजात पनि नबोक्नेहरुलाई भने धमाधम कारवाही गरिरहेको विभागले जनाएको छ ।

महानिर्देशक मैनालीले साउनपछि इन्ट्री नगर्ने र आवश्यक कागजात पनि नबोक्ने तीन कम्पनीविरुद्ध भन्सार छली तथा चोरी पैठारी मुद्दामा कारवाही चलाएको बताउनुभयो । उनीहरुलाई रु २५ लाख धरौटी लिएर मुद्दा अगाडि बढाइएको छ ।

— रासस

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *