प्रमकाे भिडियाे कल सहित टेलिकमको ‘फोरजी’ सेवा आजदेखि विस्तार हुने
Investopaper, असाैज १५, २०७६
काठमाडौं । नेपाल टेलिकमको महत्त्वाकांक्षी परियोजनाका रूपमा रहेको फोरजी सेवा विस्तारको कामले बुधबार ठोस नतिजा हासिल गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बेलुका ५ बजे मुख्यमन्त्रीसहित विभिन्न नगरका मेयरसँग एकै पटक भिडियो कल गरेर फोरजी विस्तारको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
कम्पनीको व्यवसायको अधिकतम हिस्सा थ्रीजीले ओगटेको सन्दर्भमा विस्तार परियोजनासँगै विश्वभर प्रचलनमा रहेको फोरजी पुस्तामा टेलिकमले ठूलो फड्को मार्ने छ । नेपाल टेलिकमले बुधबार सबै महानगरपालिकासहित मुख्य सहरमा फोरजी विस्तार गर्दै छ ।
पहिलोपटक २२ सहरमा फोरजी पु¥याउने लक्ष्य राखिएकोमा बीटीएस स्थापनाको काम धमाधम भइरहँदा नयाँ ठाउँहरू पनि बढिरहेको प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबार दमक, बिर्तामोड, धरान, विराटनगर, इटहरी, जनकपुर, वीरगञ्ज, हेटौँडा, भरतपुर, बुटवल, नेपालगञ्ज, धनगढीमा फोरजी सेवा सुरु हुने छ ।
त्यस्तै रुकुम, बागलुङ, महोत्तरी, रौतहट, सिरहा, बर्दिया, दाङ, धनकुटा, कैलाली, कपिलवस्तु, म्याग्दी, नवलपरासी, पाल्पा, पर्वत जिल्लाका सदरमुकाममा पनि यो सेवा बुधबार नै सुरु हुने छ । मङ्गलबार यो सूचीमा इलाम पनि थपिएको छ ।
नेपाल टेलिकमले फोरजी विस्तारका लागि आठ सय ब्यान्डमा प्राप्त १० मेगाहर्जमा फोरजी सेवा उपलब्ध गराउन लागेको हो । काठमाडौँ र पोखरामा हाल उपलब्ध गराइएको फोरजी सेवा १८ सय ब्यान्डमा रहेको १० मेगाहर्ज फ्रिक्वेन्सीलाई प्रविधि तटस्थतामार्फत फोरजी सेवा सञ्चालनमा ल्याइएको हो ।
आठ सय ब्यान्ड फोरजीकै लागि तोकिएको ब्यान्ड हो । सेवाप्रदायकलाई ग्राहक बढाउन पनि यो ब्यान्ड फाइदाजनक मानिन्छ । यो समाचार अजाको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
