कृषि बैंक, ग्रामीण प्रविधी केन्द्र र विद्युत उपभोक्ता महासंघबीच कर्जा लगानी सम्बन्धी सम्झौता

Investopaper, कार्तिक ०४, २०७६

कृषि विकास बैंक लि., ग्रामीण प्रविधि केन्द्र र सामूदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ बीच ग्रामीण विद्युत उपभोक्ता समितिमा आवद्ध महिलाहरुको आयस्तर वृद्धिका लागि मझौला तथा साना परियोजनामा कर्जा लगानी गर्ने सम्झौता भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, ग्रामीण प्रविधि केन्द्रका कार्यकारी निर्देशक गणेशराम श्रेष्ठ र सामूदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघका अध्यक्ष नारायण ज्ञवालीबीच उक्त सम्झौता पत्रमा हस्ताक्षर भएकाे हाे ।

उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले यस प्रकारको सम्झौताले दुरदराजमा रहेका साना तथा मझौला व्यवसाय गर्ने महिलाको आयस्तर वृद्धि भई निजहरुको शसक्तीकरण हुनुका साथै वित्तिय साक्षरता बढाउन तथा बैंकमा उनीहरुको पहुंच वृद्धि गर्न बैंकको कर्जा कोशेढुंगा सावित हुने बताउनु भयो ।

ग्रामीण प्रविधि केन्द्रका कार्यकारी निर्देशक गणेशराम श्रेष्ठले वित्तिय सहयोगको अभावमा आफ्नो व्यवसाय विस्तार गर्न नसकिरहेका साना/मझौला महिला व्यवसायीहरुको आर्थिक तथा सामाजिक जीवनस्तर उकास्न बैंकले प्रदान गर्ने कर्जाले ठूलो सहयोग पुग्ने आशा व्यक्त गर्नु भयो ।

यसेगरि सामूदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघका अध्यक्ष नारायण ज्ञवालीले यस सम्झौताले महिला उत्थानमा जिम्मेवारी, इमान्दारी, समझदारी, पारदर्शी र दुरदर्शिताका साथ काम गर्न प्रेरणा मिलेको बताउनु भयो । ग्रामीण प्रविधि केन्द्रका कार्यकारी निर्देशक डा. पुरुषोत्तम श्रेष्ठले महिला उत्थानका लागि गरिएकोे यस प्रकारको कार्यक्रम भविष्यमा विस्तार गर्दै लगिने बताउनु भयो ।

कृषि बैंकको कृषि कर्जा तथा एमएसएमई विभागका विभागीय प्रमुख बाबुकाजी थापाका अनुसार हालकाे लागि चितवन, धादिङ्ग, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुली ८ जिल्लामा लागु हुने छ । उक्त जिल्लाहरूका ग्रामीण विद्युत उपभोक्ता समितिमा आवद्ध महिलाहरुलाई कृषि, पशु, महिला उद्यमशीलता तथा अन्य लघुउद्यममा धितो वा परियोजनामा आधारित रहेर बैंकले कर्जा उपलब्ध गराउनेछ ।

यस कार्यक्रममा कर्जाका अतिरिक्त बैंकले उनीहरुलाई उद्यमशीलता विकासका लागि तालीम, वाली तथा पशु सुरक्षण सम्बन्धी अन्तर्कृया, वित्तिय साक्षरता तथा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न कार्यक्रम समेत संचालन गर्नेछ ।

सो कार्यक्रममा बैंकका उपमहाप्रबन्धकहरु प्रताप सुबेदी, यज्ञ प्रकाश न्यौपाने, ध्रुबचन्द्र गौतम, परामर्शदाता घुरन ठाकुर, विभागीय प्रमुखहरु बाशु अधिकारी, विना शर्मा तथा विभागका शा.प्र. प्रेम खनाल तथा सि.ए. कृष्ण निरौलाको उपस्थिति रहेको थियो । ग्रामीण प्रविधि केन्द्रका तर्फबाट डा. पुरुषोत्तम श्रेष्ठ, आस्मा पाख्रिन, पवन कुमार सिंह तथा NACEUN का तर्फबाट महासचिव रामकृष्ण हुमागाईको समेत उपस्थिति रहेको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *