मन लगाएर गरे किन हुदैन ? तीन सातामा तीन किलोमिटर सडक निर्माण
Investopaper, कार्तिक ०४, २०७६
ताप्लेजुङ — तिब्बतको रिउ बजारका मजदुरले पूर्वोत्तर नेपालको व्यापारिक नाका ओलाङ्चुङगोलाबाट सुरु हुने उत्तर-दक्षिण (मूलघाट-दोभान-ओलाङ्चुङगोला) सडकको तीन किलोमिटर ट्याक तीन सातामा नै खोलेका छन्। सात महिनामा पहाडी क्षेत्रको २५ किलोमिटर सडकको ट्याक खोलेर चर्चा कमाएको यही समूहले यो सडकको ट्याक खोलेको हो।
ओलाङचुङगोलाबाट लेलेपको लुङ्थुङतर्फ तीन किलोमिटरको ट्याक खुलेपछि यो सडक योजनाको ट्याक खुल्न बाँकी दुरी १७/१८ किलोमिटरमा सीमित भएको छ । यो सडक निर्माणको मुख्य जिम्मेवारी पाएको एसबिएरएलाइट जेभी (संयुक्त उपक्रम) का चारवटा उपकरणले लुङ्थुङबाट गोलातर्फ धमाधम ट्याक खोल्ने काम अघि बढाइरहेकोले सात महिनामा पहाडी क्षेत्रमा २५ किलोमिटर ट्रयाक खोलेर चर्चित तिब्बती समूहले ट्रयाक खोलेको हो।
बाँकी दुरी छिचोलिन लामो समय नलाग्ने ठेकेदार कम्पनीका साइट इन्चार्ज राजीव लामिछानेले जानकारी दिए। ठेकेदार कम्पनीहरू निर्धारित समयअगावै काम सकेर धन्यवादको पात्र बन्न चाहन्छन् । ‘अहिलेसम्मको प्रगतिले धन्यवाद पाउने मिति नजिकिँदै गएको आभाष हुन थालेकोछ,’ लामिछानेले भने । कम्पनीका लागि यो ट्रयाक खोल्नु र गोलाबाट नेपाल-तिब्बत सीमा नाका टिपतालासम्मको करिब २५ किलोमिटर स्तरोन्नति सम्पन्न गर्न अझै करिब दुई वर्ष समय छ।
गोला-टिपताला खण्डको स्तरोन्नतिका लागि तिब्बतको रिउ सरकारले पनि सघाउने बताइसकेको छ। यो अवस्था कम्पनीका लागि समय सीमाअगावै कार्य सम्पन्न गर्ने विश्वासिलो आधार बन्न सक्छ। साइट इन्चार्ज लामिछाने गोला र लुङ्थुङ दुवै क्षेत्रबाट ट्रयाक खोल्ने काम भइरहेकोले निर्धारित समयअगावै काम सकिनेमा ढुक्क छन् । निर्माण कार्यका लागि अहिलेको समय उपयुक्त पनि छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
