आधा सहायता सामाजिक क्षेत्रमा : राष्ट्रसंघ प्रतिवेदन

Investopaper, मंसिर ०४, २०७६

काठमाडौँ — अति कम विकसित राष्ट्रले प्राप्त गर्ने आधिकारिक विकास सहायता (ओडीए) मध्ये आधा रकम सामाजिक क्षेत्रमा खर्च हुने राष्ट्रसंघले प्रकाशित गरेको एक प्रतिवेदनले औंल्याएको छ । राष्ट्रसंघले सार्वजनिक गरेको अति कम विकसित राष्ट्र प्रतिवेदन–२०१९ (लिस्ट डेभलपभ्ड कन्ट्रिज रिपोर्ट–२०१९) मा यस्ता राष्ट्रले पाउने सहायता रकम आर्थिक पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा नभई सामाजिक क्षेत्रमा बढी खर्च हुने औंल्याएको हो । 

‘यस्ता राष्ट्रले पाउने विकास सहायता वार्षिक रूपमा २ प्रतिशतले मात्रै वृद्धि भएको छ,’ प्रतिवेनमा भनिएको छ, ‘जुन लक्ष्यभन्दा निकै थोरै हो ।’ कुल सहायताको ४५ प्रतिशत सामाजिक क्षेत्रमा खर्च हुने तथा आर्थिक पूर्वाधार र उत्पादनमूलक क्षेत्रमा सहायताको क्रमश: १४ र ८ प्रतिशत मात्रै खर्च हुने प्रतिवेदनमा जनाइएको छ ।

संयुक्त राष्ट्रसंघ व्यापार तथा विकास सम्मेलन (यूनसीटीएडी) ले सार्वजनिक गरेको प्रतिवेदनले अति कम विकसित राष्ट्रहरूले स्रोत साधन परिचालनलाई प्रभावकारी बनाउन आफ्नो संरचनागत सुधार गर्नुपर्ने सुझाव पनि दिइएको छ । बाह्य सहायतालाई आफ्नो विकास प्राथमिकताअनुसार परिचालन गर्न पनि प्रतिवेदनमा सुझाव दिइएको छ । काठमाडौंमा एक कार्यक्रम आयोजना गरी मंगलबार प्रतिवेदन सार्वजनिक गरिएको हो ।

यस्तै दातृ राष्ट्रहरूले पनि आफ्नो कुल गार्हस्थ्य उत्पादनको शून्य दशमलव १५ देखि शून्य दशमलव २ प्रतिशतसम्म सहायता अति कम विकसित राष्ट्रलाई दिने प्रतिबद्धता पूरा गर्नुपर्ने प्रतिवेदनले उल्लेख गरेको छ । अहिले यस्ता राष्ट्रले आफ्नो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को औसत शून्य दशमलव ९ प्रतिशत रकम मात्रै सहायता दिँदै आएका छन् ।

एक तिहाइ अति कम विकसित राष्ट्र बाह्य ऋणको दबाबमा रहेको उक्त प्रतिवेदनमा उल्लेख छ । अति कम विकसित राष्ट्रले लिएका १३ प्रतिशत बाह्य ऋण दबाबको उच्च जोखिममा रहेको औंल्याइएको छ । तीमध्ये १७ प्रतिशत ऋण दबाबको मध्यम जोखिम र ५ प्रतिशत भने सामान्य दबाबमा रहेको उल्लेख गरिएको छ । नेपाल भने बाह्य ऋणको दबाबमा नरहेको जानकारहरू बताउँछन् । याे समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *