चीनमा अब मोबाइल सेवा लिन अनुहार स्क्यान गराउनुपर्ने

Investopaper, मंसिर १५, २०७६

चीनका नागरिकहरूले अबदेखि मोबाइल फोन सेवा लिन आफ्नो अनुहार स्क्यान गर्नुपर्ने भएको छ। अधिकारीहरूले देशका करोडौँ इन्टरनेट प्रयोगकर्ताका पहिचान पुष्टि गर्ने प्रयास गरिरहँदा यस्तो व्यवस्था कार्यान्वयनमा आएको हो।

सेप्टेम्बरमा घोषणा गरिएको यो नियम आइतवारबाट कार्यान्वयनमा आउने बताइएको छ। सरकारले इन्टरनेटमा आफ्ना नागरिकका वैधानिक अधिकार र स्वार्थ रक्षा गर्न चाहेको बताएको छ।

चीनले देशभर अनुहार पहिचान गर्ने प्रविधिलाई विस्तार गरेपछि त्यसलाई लिएर हालैका वर्षमा बहसहरू हुने गरेका छन्।

नयाँ व्यवस्था अनुसार सङ्कलन गरिएका अनुहारका तस्बिर चीन सरकारको केन्द्रीय तथ्याङ्क भण्डारमा रहेका व्यक्तिगत परिचयपत्रसँग भिडाएर हेरिनेछ। चीनमा यसअघि नै नयाँ मोबाइल सेवा लिदाँ राष्ट्रिय परिचयपत्र र तस्बिर आवश्यक थियो।

नयाँ नियमपछि परिचयपत्रसम्बन्धी तथ्याङ्कसँग मिल्ने अनुहारको स्क्यान भएमात्र ती सेवामा पहुँच दिइनेछ। चीनले वर्षौँदेखि मानिसहरूले आफ्नो ‘वास्तविक परिचय’ प्रयोग गरी इन्टरनेट प्रयोग गर्ने सुनिश्चित गर्ने गरी नियम ल्याउने प्रयास गर्दै आएको छ।

सन् २०१७ मा चीनमा १७ करोड सीसीटीभी क्यामेरा जडान गरिएका थिए। सन् २०२० सम्म थप ४० करोड त्यस्ता क्यामेरा देशभर जडान गर्ने लक्ष्य चीन सरकारले लिएको छ।

— बीबीसी नेपालीबाट

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *