गत दुई महिनामा मलेसियाद्वारा ३१ हजार श्रमिककाे माग
मंसिर १८, २०७६
वैदेशिक रोजगारीका लागि मलेसियाबाट पछिल्लो दुई महिनाको अवधिमा ३१ हजार २०१ श्रमिकका लागि माग आएको छ । गत अक्टोबर र नोभेम्बरमा त्यो सङ्ख्याको मागपत्र प्रमाणीकरण गरिएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार सो अवधिमा माग भएका ३१ हजार २०१ श्रमिकमध्ये सबैभन्दा बढी औद्योगिक क्षेत्रमा १७ हजार ११६ वटा माग आएको छ भने सबैभन्दा कम निर्माण क्षेत्रमा एक हजार ३० वटा माग आएको दूतावासले जनाएको छ । यस्तै दूतावासका अनुसार सेवा क्षेत्र (सुरक्षा गार्डसहित)को क्षेत्रमा १० हजार १८३ वटा माग आएको छ भने कृषितर्फ एक हजार ४७५ वटा माग आएको छ ।
नेपाल सरकार र मलेसिया सरकारबीच भएको समझदारीपत्र बमोजिम राजदूताबासबाट सन् २०१९ को अक्टोबर महिनाको पहिलो हप्तादेखि मलेसिया सरकारको आधिकारिक निकायबाट प्रमाणीकरण भई आएका माग पत्र अभिलेखीकरण गरी वैदेशिक रोजगार विभागमा सिफारिस गर्ने कार्य भइरहेको छ ।
तत्कालीन श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मलेसियामा रोजागरीमा जाने श्रमिकलाई स्वास्थ्य परीक्षणका नाममा नेपाली श्रमिकलाई आर्थिक शोषण भएको र यसलाई हटाउन भन्दै २०७५ जेठ २ गतेबाट नयाँ श्रमिकलाई तत्कालका लागि श्रम स्वीकृति दिन बन्द गर्नुभएको थियो ।
नेपाली श्रमिकको प्रमुख गन्तव्य मलेसिया १५ महिनापछि गत भदौ २९ गतेबाट खुलेको थियो । सोपश्चात् नेपाल र मलेसिया सरकारीबीच भएको श्रम समझदारीअनुरूप मलेसियाका रोजगारदाता कम्पनीले नेपाली श्रमिकको माग गरेका मागपत्र दुतावासले प्रमाणीकरण गरेको हो ।
दूतावासका अनुसार प्रमाणीकरणका लागि औद्योगिक क्षेत्रमा १७ हजार ११६ जना, सेवा क्षेत्रका लागि १० हजार १८३, कृषि क्षेत्रका लागि एक हजार ४७५, प्लान्टेसनका लागि एक हजार ३९७ र निर्माण क्षेत्रका लागि एक हजार ३० श्रमिकको मागपत्र प्रमाणीकरण भएको छ । यस्तै सेक्युरिटी गार्डसहित यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
