भक्तपुरको सिद्धपोखरीमा नौका विहार सरर

Investopaper, पौष १७, २०७६  

भक्तपुर — भक्तपुरको ऐतिहासिक सिद्धपोखरीमा अब नौका विहारमा सरर घुम्न पाइने भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी भक्तपुर नगरपालिकाले बुधबारदेखि नःपुखुमा नौका विहार (डुंगा) सञ्चालनमा ल्याएपछि नौका विहार गर्नेको घुइँचो लागेको छ । 

हाललाई चारवटा डुंगा ल्याएर नगरपालिकाले केही दिनका लागि निःशुल्क नौका विहार सञ्चालन गर्ने भएको छ भने नगरपालिकाले कार्यविधि बनाएर निश्चित शुल्क लिएर निरन्तर रुपमा नौका विहार सञ्चालन गर्ने भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले एउटा डुंगाको चार लाख ५० हजारको लागतमा चारवटा डुंगा ल्याएर सञ्चालन गरेको हो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न र स्वदेशी तथा विदेशी पर्यटकलाई नौका विहारको मनोरञ्जन प्रदान गर्न भक्तपुर–१ सिद्धपोखरीमा सञ्चालित नौका विहारको उद्घाटन गरे ।

उनले भ्रमण वर्षको अवसर पारी भक्तपुर नगरपालिकाले भक्तपुरको सिद्धपोखरीमा नौका विहार सञ्चालनमा ल्याएको बताउँदै यसलाई व्यवस्थित बनाउन कार्यविधि नै बनाएर अगाडि बढ्ने बताए । हाललाई सिद्धपोखरीमा सञ्चालन गरिएको नौका विहारलाई नगरपालिकाले कार्यविधि बनाएपछि नःपुखुमा समेत सञ्चालन गरिने बताउँदै वडा नं १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले नःपुखुका लागि थप डुङ्गा मगाएकाले आउने बित्तिकै सञ्चालन गर्ने योजना रहेको बताए ।

नौका विहारलाई सुरक्षित रुपमा सञ्चालन गरिएको दाबी गर्दै उनले नौका विहारमा उद्धारको टोलीसमेत तयारी अवस्थामा राखिएको बताए ।

— रासस

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *