सवारी नियम पालना गर्न टिप्पर चालकले १० बुँदे शपथ खाए !

रासस, पौष २९,  २०७६

काभ्रे – दुर्घटना न्यूनीकरण गर्न चालकको मुख्य भूमिका रहेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय र वाग्मती टिपर व्यवसायी सङ्घ काभ्रेपलाञ्चोकले जिल्लामा सञ्चालित टिप्पर चालकलाई सुरक्षित र धैर्यताका साथ गाडी चलाउन निर्देशन दिँदै शपथ गराएको छ ।

‘भ्रमण वर्ष २०२० को प्रचारप्रसार तथा दुर्घटना न्यूनीकरणका लागि चालकलाई शपथ ग्रहण’ कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख विशाल तामाङले सबै टिप्पर चालकलाई शपथ ग्रहण गराउनु भएको हो ।

चालकलाई मादक पदार्थ सेवन गरेर कहिल्यै गाडी नचलाउने, गाडीमा सङ्गीतको बुफर तथा झलर र सिसामा स्टिकर नराख्ने, बस्ती क्षेत्रमा प्रेसर हर्न नबजाउने र जथाभाबी ओभरटेक तथा पार्किङ नगर्ने, पानी चुहाएर सामान ढुवानी नगर्ने, तीव्र गतिमा गाडी नचलाउने र गाडी चलाउँदा मोबाइल फोन प्रयोग नगर्ने तथा नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसारका लागि गाडीमा स्टिकर टाँस्नेछु लगायतका १० बुँदे शपथ खुवाइएको हाे । 

जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले टिप्पर चालकलाई हतारमा गाडी नचलाउन आग्रह गर्नुभयो । जतिसुकै हतारमा भए पनि आफ्नो काममा दृढ भएर काम गरेमा कसैको भनाइ र प्रहरीको कारबाहीमा नपर्ने उल्लेख गर्दै त्यसतर्फ ध्यान दिन उहाँले सबै चालकलाई अनुरोध गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले हरेक वर्ष दुर्घटनाको दर वृद्धि हुँदै गएकाले त्यसको न्यूनीकरण प्रहरी वा चालक एक्लैले गर्न नसक्ने भएकाले त्यसमा सबै जनाको उत्तिकै भूमिका हुनु जरुरी रहेको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रविकुमार पौडेलले चालकले गरेको गल्तीका कारण प्रहरीले भोग्नुपर्ने अवस्था आउने गरेका कारण प्रहरी र चालक दुवैले सचेत भएर आ–आफ्नो जिम्मेवारी बहन गर्न आवश्यक रहेको धारणा राख्नुभयाे । कार्यक्रममा टिप्परमा भ्रमण वर्ष २०२० को लोगोसहितको स्टिकर टाँसेर भ्रमण वर्ष प्रचारप्रसार गर्ने कामलाई प्रवर्द्धन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी तिमिल्सना, जिल्ला प्रहरी कार्यालय प्रमुख पौडेल र जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रमुख तामाङलगायतले टिप्परमा भ्रमण वर्षको लोगोसहितको स्टिकर टाँसेका थिए । 

काभ्रेपलाञ्चोकबाट मात्रै दैनिक दुई हजार दुई सयभन्दा बढी टिप्पर उपत्यका भित्रने गरेकाे जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *