सनराइज बैंकले सिर्जना फाइनान्स प्राप्ति गर्ने सैद्धान्तिक सहमति
माघ ९, २०७६ | Investopaper
सनराइज बैंक लिमिटेडले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने भएको छ । माघ ८ गते बसेको संचालक समितिले सनराइज बैंकले सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति (acquisition) गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको हो ।
सम्पत्ति तथा दायित्व मूल्यांकनकाे लागि विषेशज्ञ तत्काल नियुक्त गरी डिडिएकाे प्रतिवेदन अनुरूप सिर्जना फाइनान्सकाे शेयर मूल्य कायम गरिने सहमति समेत भएकाे छ । डिडिएबाट प्राप्त प्रतिशेयर मूल्यलाई दुवै पक्षको संचालक समितिले स्वीकृत गरी साधारणसभाबाट स्वीकृति भए बमोजिम सिर्जना फाइनान्सका विद्यमान शेयरधनीहरुलाई निजहरुले धारण गरेको शेयर वापत स्वीकृत अनुपात अनुसार सनराइज बैंकको शेयर दिईने सम्झौतामा उल्लेख छ ।
सनराइज बैंकका हाल देशभर १३० वटा शाखा तथा ८ वटा एक्स्टेन्सन काउन्टर संचालन छन भने सिर्जना फाइनान्स लिमिटेड बिराटनगरमा प्रधानकार्यालय रहि मोरङ्ग, सुनसरी र सप्तरी गरि ३ जिल्लामा कार्यक्षेत्र रहेको २१ वटा शाखाहरू रहेका छन् ।
गत पौष मसान्तको प्रकाशित वित्तीय विवरण अनुसार सनराइज बैंक लिमिटेडको कूल निक्षेप करिब ८५ अर्ब रुपैयाँ, कर्जा लगानी करिब ७८ अर्ब रुपैयाँ रहेकोमा सोही अवधिमा सिर्जना फाइनान्स लिमिटेडको निक्षेप तथा कर्जा क्रमशःकरिब ७ अर्ब ३१ करोड र करिब ६ अर्ब ३१ करोड रहेको समावेश गर्दा बैंकको निक्षेप करिब ९२ अर्ब ३१ करोड र कर्जा ८४ अर्ब ३१ करोड पुग्ने बैंकले जनाएको छ । प्राप्ति पश्चात बैंकको पँहुच तथा व्यवसाय क्षमतामा व्यापक बढोत्तरी हुनुका साथै नेपाली अर्थतन्त्रमा बैंकको उपस्थिति बढी सबल रहनगई सबै पक्षलाई लाभदायक हुने बैंकले जनाएको छ।
