कोरोनाभाइरस: कहिले रोकिन्छ? सामान्य अवस्था कहिले हुन्छ?

इन्भेष्टोपेपर। चैत्र ८, २०७६

विश्वका प्रमुख स्थलहरू खाली ।

विद्यालय बन्द गरिनुका साथै यात्रामा लगाइएको प्रतिबन्ध अनि ठूलो सङ्ख्यामा जम्मा हुन नपाइने सहितका अन्य प्रतिबन्धात्मक व्यवस्थाका कारण निकै व्यस्त रहने स्थानहरू सुनसान देखिन थालेका छन्।

प्रधानमन्त्रीको सम्बोधनः ९ गतेपछि कुन-कुन सेवा खुल्नेछन्, कस्ता बन्द हुन्छन्?

कोरोनाभाइरसः जनचासोका बारे ११ महत्त्वपूर्ण प्रश्न र तिनका उत्तर

यो कोरोनाभाइरसका कारण उत्पन्न हुने रोगप्रति लक्षित एक विशेष किसिमको अभूतपूर्व प्रतिक्रिया हो। तर संसारभर २७५,००० भन्दा बढी मानिसलाई सङ्क्रमण गरेको प्रकोपको अन्त्य कहिले हुन्छ? हामी सामान्य जीवनमा कहिलेसम्म फर्कन सक्छौँ?

ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले ब्रिटेनले कोरोनाभाइरसको प्रभावलाई आगामी १२ हप्ताभित्र ‘बदल्न सक्ने’ विश्वास व्यक्त गरेका छन्।

तर आगामी तीन महिनामा सङ्क्रमणको सङ्ख्यामा कमी आउन थाले पनि हामी त्यसको अन्त्यभन्दा निकै टाढा हुने छौँ। यसको प्रभाव अन्त्य हुन निकै लामो समय लाग्न सक्छ। सम्भवतः वर्षौँ लाग्न सक्छ।

हाल अपनाइएको प्रतिबन्धहरूको रणनीति दिगो हुन नसक्ने स्पष्ट छ र यसले निम्त्याउने सामाजिक र आर्थिक क्षति डरलाग्दो हुनेछ।

अहिलेको आवश्यकता भनेको ‘निकासको रणनीति हो’ जसबाट प्रतिबन्धात्मक व्यवस्थाहरू हटाउन र जनजीवन सामान्य बनाउन सकिन्छ। तर कोरोनाभाइरस हराउने छैन।

प्रतिबन्ध हटाइए सङ्क्रमणको सङ्ख्या बढ्ने छ।

“निकासको योजना के हो र हामी कसरी यसबाट बाहिर निस्कन सक्छौँ भन्ने विषय ठूलो समस्या हो,” युनिभर्सिटी अफ एडिनबरा सरुवा रोग विषयका प्राध्यापक मार्क वुलहाउसले बताए।

“यो विषयमा यूकेमा मात्र होइन। कुनै पनि देशसँग योजना छैन।” यो निकै ठूलो वैज्ञानिक र सामाजिक चुनौती हो।

यो परिस्थितिबाट बाहिर निस्कने तीनवटा तरिका छन्

  • खोप‍,
  • धेरै मानिसहरूमा रोगप्रतिरोधी क्षमताको विकास, वा
  • व्यवहार/समाजको स्थायी परिवर्तन

यी सबै तरिकाहरूले भाइरसको फैलिने गति कम गर्नेछन्।

खोप बन्न कम्तीमा एक वर्ष लाग्छ

खोपले मानिसको रोग प्रतिरोध गर्ने क्षमता बढाउँछ जसले गर्दा उनीहरू बिरामी हुने जोखिम कम हुन्छ। करिब ६० प्रतिशत मानिसहरूलाई नयाँ कोरोनाभाइरस प्रतिरोध गर्न सक्ने बनाइयो भने उक्त भाइरस फैलिन सक्दैन।

अमेरिकामा एक व्यक्तिलाई यसै हप्ता पहिलो पटक खोप परीक्षण गरिएको छ। खोपका बारेमा अभूतपूर्व गृहकार्य भइरहेको छ तर यो सफल हुन्छ भन्ने निश्चित छैन।

सबैभन्दा सहज अनुमान सबै कुरा सफल र सहज भए पनि खोप बन्न अझै १२ देखि १८ महिना लाग्छ भन्ने हो।

प्राकृतिक रोग प्रतिरोधी क्षमता – कम्तीमा दुई वर्ष

धेरै देशहरूको अल्पकालीन योजना रोग सर्न सकेसम्म कम गर्ने र अस्पतालका शैयाहरू खाली राख्ने हो। सङ्क्रमण कम भएपछि प्रतिबन्धात्मक व्यवस्थाहरू खुकुलो पार्न सकिन्छ। तर कहिले सङ्क्रमण घट्छ भन्न सकिन्न।

यूकेका प्रमुख वैज्ञानिक सल्लाहकार सर प्याट्रिक भाल्लेन्स भन्छन्: “स्पष्ट समयरेखा कोर्न सकिने अवस्था छैन।”

तर यसको सङ्क्रमण बढ्दै जाँदा मानिसहरूको शरीरमा यसलाई प्रतिरोध गर्ने क्षमता पनि बढ्दै जान सक्छ।

तर त्यसका लागि वर्षौँ लाग्न सक्छ।

प्राध्यापक नील फर्गुसन भन्छन्: “हामी यसको सङ्क्रमणलाई थोरै मानिसमा मात्र सीमित गर्ने कुरा गरिरहेका छौँ।”

“त्यसका लागि हामीले दुई वर्षसम्म यस्तै अवस्था भोग्यौँ भने धेरै मानिसहरूमा रोग प्रतिरोधि क्षमता विस्तार हुनसक्छ किनभने त्यतिबेलासम्म जनसङ्ख्याको ठूलो समुदायलाई सङ्क्रमण भइसकेको हुनेछ।”

वैकल्पिक व्यवस्था – कहिले भन्ने टुङ्गो छैन

“अर्को विकल्प भनेको हाम्रो व्यवहारमा स्थायी परिवर्तन हो जसले सङ्क्रमण सर्ने दर कम गर्न सहयोग गर्छ,” प्राध्यापक वुलहाउसले बताए। जसमा हाल कायम गरिएका कतिपय उपाय कायम राख्ने, व्यापक रूपमा परीक्षण गर्ने वा आइसोलेसन अर्थात् एक्ल्याएर राख्ने उपाय हुन सक्छ।

कोभिड-१९ को सफल उपचार गर्न सक्ने औषधि विकास भए अन्य रणनीतिमा सहयोगी भूमिका निर्वाह गर्न सक्छ। त्यसलाई सङ्क्रमणको लक्षण देखा पर्नासाथ प्रयोग गर्न सकिने बताइएको छ।

अरूलाई त्यो नसरोस् भनेर गरिने “ट्रान्समिसन कन्ट्रोल” अर्थात् सर्न नियन्त्रण गर्ने प्रक्रियामा त्यसले सघाउ पुर्‍याउन सक्ने बताइएको छ। यसले प्रतिबन्धात्मक उपाय नगरी थप घटनाहरूसँग जुझ्न सहयोग गर्छ।

तर कोभिड-१९ को औषधि बनेर परीक्षण भई प्रयोगमा आउन पनि उत्तिकै समय लाग्छ।

यूकेका प्रमुख स्वास्थ्य सल्लाहकार प्राध्यापक क्रिस ह्वीटी भन्छन्: “दीर्घकालीन समाधान भनेको खोप नै हो र आशा गरौँ त्यो सकेसम्म छिटो उपलब्ध हुनेछ।”

(बीबीसी स्वास्थ्य विज्ञान संवाददाता जेम्स ग्यालागरले तयार पारेको सामाग्री।)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *