प्रधानमन्त्रीको सम्बोधनः ९ गतेपछि कुन-कुन सेवा खुल्नेछन्, कस्ता बन्द हुन्छन्?
इन्भेेष्टोपेपर, चैत्र ८, २०७६
काठमाडौं– कोरोना भाइरसको विश्वव्यापी सनत्रासको अवस्थामा नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशवासीका नाममा विशेष सम्बोधन गर्दै चैत ९ गतेदेखि देशभरका अत्यावश्यक बाहेक अन्य सेवा २१ गतेसम्म अर्थात १२ दिन बन्द हुने घोषणा गर्नुभएको छ।
प्रधानमन्त्रीको सम्बोधनअनुसार अब संघ, प्रदेश र स्थानीय तहमा रहेका सार्वजनिक, सामुदायिक र निजी सेवा प्रदायक संस्थाले दिने अत्यावश्यक सेवामात्र खुल्ला हुनेछन्।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले राजपत्रमा भएका १९ बाहेकका सबै सेवा ९ गतेदेखि बन्द हुने जानकारी दिनुभयो। सरकारले विशेष कानुन बनाएर यी सेवाहरु अवरुद्ध गर्न नहुने र गरे कडा कारबाहीको प्रावधानसमेत राखेको छ। सरकारले यी क्षेत्रमा हड्तालसमेत निषेध गरेको थियो।
कोरोनाभाइरसः जनचासोका बारे ११ महत्त्वपूर्ण प्रश्न र तिनका उत्तर
राजपत्रमा गृह मन्त्रालयले प्रकाशित गरेको सूचनाअनुसार २१ गतेसम्म अत्यावश्यक सेवाअन्तर्गत निम्न कुराहरू राखिएका छन्:
डाँक तार वा टेलिफोन सेवा, जल, स्थल तथा हवाइमार्गबाट यात्रु वा मालसामान ओसारपसार गर्ने सेवा, हवाइ अड्डा, हवाइजहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा, हवाइग्राउन्ड, रेलवे स्टेशन वा सरकारी गोदाममा मालसामान ओसारपसार, राख्ने झिक्ने वा थन्काउने कामसँग सम्बन्धित सेवा, प्रिन्ट वा सरकारी छापाखानासँग सम्बन्धित सेवा, हातहतियार, खरखजाना वा अरू कुनै सैनिक सरसामान उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित सेवा, सञ्चार सेवा बन्द हुने छैन।
यसैगरी आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा, खानेपानीको सञ्चालन तथा वितरण सेवा, पर्यटन, आवास, मोटेल, होटेल रेस्टुरा र रिसोर्टसम्बन्धी सेवा, पेट्रोलियम पदार्थको पैठारी ढुवानी र वितरणसम्बन्धी सेवा, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी सेवा (जसमा एम्बुलेन्स सेवा समावेश छ) पनि बन्द हुनेछैन।
औषधी निर्माण तथा बिक्री वितरणसम्बन्धी सेवा, फोहोर सङ्कलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र सङ्कलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवा, बैंकिंङ सेवा, बिमा सेवा र विद्युत सेवासमेत बन्द हुने छैन।
खाद्यान्न, दाल, चामल, नुन, तेललगायतको दैनिक उपभाग्य वस्तुहको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा, मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवासमेत बन्द हुनेछैन।
यीबाहेकका सेवा दिने निजी तथा सरकारी संस्था वा व्यवसाय भने ९ गतेदेखि बन्द गर्नुपर्ने भएको छ।





