व्यावसायिक मकै खेतीका लागि नयाँ बीउ तयार

इन्भेष्टोपेपर ।  जेष्ठ  २०, २०७७

चितवन । राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रमले उत्पादन गरेको नेपालको रामपुर वर्णशङ्कर १० मकै व्यावसायिक खेतीका लागि तयार भएको छ । अनुसन्धान कार्यक्रमका संयोजक डा. केशवबाबु कोइरालाका अनुसार यसअघि कार्यक्रमले गौरव, खुमल २, रामपुर वर्णशङ्कर २, ४, ६ र ८ को व्यावसायिक उत्पादनका लागि पठाइसकेको छ ।

उहाँले पछिल्लोपटक हालै उत्पादन गरिएको रामपुर १० यस वर्षदेखि नै बजारमा पठाइएको छ । गौरव र रामपुर वर्णशङ्कर तराई भित्री मधेस र टारहरूका लागि हो भने खुमल पहाडी इलाकाका लागि विकास गरिएका जात हुन् । गौरवबाहेक सबै बीउ बजारीकरण भइरहेका छन् ।

राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रमका वरिष्ठ वैज्ञानिक डा. महेन्द्र त्रिपाठीका अनुसार गत वर्ष बीउ उत्पादनका लागि प्रमाणित भएपछि यसपटक चितवनलगायत देशका विभिन्न पाँच स्थानमा निजी क्षेत्रबाट बीउ उत्पादन भइरहेको छ । उहाँले देव कृषि फार्म चितवनबाट छदेखि आठ टन, महारानी झोडा झापाबाट छदेखि आठ टन, लुम्बिनी सिड कम्पनी रुपन्देहीबाट आठदेखि दस टन, युनिक सिड धनगढीबाट १२ देखि १५ टन, पञ्चशक्ति धनगढीबाट पाँचदेखि सात टन बीउ उत्पादनको तयारी छ ।

चितवनमा बीउ उत्पादनमा लाग्नुभएका मित्रराज दवाडी यसपटकको बीउ उत्पादन सफल भएको दाबी गर्नुहुन्छ । उहाँले यसअघि छ कट्ठामा लगाएको मकै बीउको बिक्री सुरु गरिसक्नुभएको छ । तीन बिघाभन्दा बढी जमिनमा लगाइएको बीउ उत्पादन लिने तयारी अवस्थामा पुगिसकेको छ ।
२०५७÷५८ सालमा दवाडी, कर्साङ लामा, टीकाराम पोखरेल र कपिलबाबु खनाल मिलेर दाङमा २१ बिघा जमिनमा रामपुरबाट विकास गरेको गौरव जातको मकैको बीउ उत्पादनको प्रयास गर्नुभएकामा एकैपटकमा १४ लाख रुपियाँभन्दा बढी नोक्सान भएको थियो ।

त्यस बखतका साथीहरू छुटे पनि दवाडी निरन्तर यस क्षेत्रमा लागिरहनुभयो । अन्ततः २० वर्षपछि उहाँको मुहारमा मुस्कान आएको छ । यसपटक रामपुर १० सिरिजको वर्णशङ्कर बीउ उत्पादन गर्न उहाँ सफल हुनुभएको छ । दवाडीले भन्नुभयो, “वर्षौंदेखिको मेरो मिहिनेत यसपटक सफल भएको ठानेको छु । साढे तीन बिघामा लगाएको बीउ उत्पादन सफल भएको छ । ”

उहाँले गत वर्ष उत्पादन गर्नुभएको बीउबाट यसपटक उत्पादन लिने अवस्था भएको छ । आठ कट्ठामा लगाइएको उक्त मकै अनुपातको हिसाबले प्रतिहेक्टर आठ टन उत्पादन सुनिश्चित बनेको छ ।

मकै बाली कार्यक्रमका संयोजक डा. कोइराला परम्परागत खेती प्रणाली र विदेशी वर्णशङ्करमा निर्भर हुन नहुने बताउँदै सरकारले वर्णशङ्कर जातको अनुसन्धान र विकास गर्नुपर्ने बताउनुुहुन्छ । उहाँले नेपालले आफ्नै हाइब्रिड उत्पादन गरेर मकैको उत्पादन वृद्धि गर्न आवश्यक रहेको औँल्याउनुभयो ।

नेपालमा नौ लाख ९४ हजार हेक्टर जमिनमा मकै खेती गरिने गरेको तथ्याङ्क जानकारी दिँदै उहाँले उत्पादकत्व क्षमता केवल २.६७ टन प्रतिहेक्टर रहेको जानकारी दिनुभयो । हाइब्रिड मकै कम्तीमा पनि प्रतिहेक्टर आठ टन फल्ने गर्दछ । याे समाचार गाेरखापत्र देनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *