आज निर्जला एकादशीः तुलसीकाे बीउ राख्ने तथा ब्रत गरी मनाइँदै

न्भेष्टाेपेपर । जेठ १७, २०८०

काठमाण्डाैँ । हिन्दू धर्ममा एकादशीको व्रतले महत्वपूर्ण स्थान राख्दछ । प्रत्येक वर्ष चौबीस एकादशीहरू हुन्छन् । अधिकमास अथवा मलमास परेको वर्ष यो संख्या बढेर २६ हुन जान्छ । ज्येष्ठ मासको शुक्ल पक्षको एकादशीलाई निर्जला एकादशी भनिन्छ । यस व्रतमा पानी समेत पिउँनु वर्जित छ यसैले यसलाई निर्जला एकादशी भनिन्छ ।

याे वर्षकाे निर्जला एकादशी आज बुधबार परेकाले आज राखिएको तुलसीकाे बीउ एक महिनापछि अर्थात आषाढ शुक्ल एकादशीका दिन मोठमा रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान विष्णुको प्रतीकका रुपमा तुलसीको पूजा आराधना गरिन्छ । यो चार महिने अवधिलाई चतुर्मासा समेत भनिन्छ । आयुर्वेदमा उल्लेख भए अनुसार तुलसी रोपिएको स्थानलाई पवित्र मानिन्छ ।

तुलसी भएको स्थानमा मलेरिया फैलाउन सक्ने विषाक्त वायु समेत हटाउने क्षमता हुने तथ्य वैज्ञानिक रुपमा प्रमाणित भएको छ । तुलसीमा सबै प्रकारका प्रदूषणलाई हटाएर स्वच्छता कायम गर्न सक्ने क्षमता हुन्छ । सनातन हिन्दू धर्मावलम्बीले जीवनको अन्तिम क्षणमा पुगेकालाई तुलसी मिश्रित जल पिलाउने गर्छन् । यसो गर्दा आत्मा पवित्र हुने र लोकान्तर प्राप्तिमा सहयोग पुग्ने शास्त्रीय मान्यता रहेको छ ।

ब्रत विधिः

निर्जला एकादशीकाे व्रत नर नारीहरू दुबैले लिन/गर्न सक्दछन । शारीरिक समस्या भएकाहरु वा औषधि सेवन गरिरहेका, रोगी, सुत्केरी, गर्भवती वा बुढाबुढी बाहेकले निर्जला एकानशी व्रत बस्नु उपयुक्त हुन्छ । जलपानको निषेध भए पनि फलहारको साथमा दुध लिन सकिन्छ ।

यस दिन निर्जल व्रत गर्दै भगवान विष्णुको अराधनाको विशेष महत्व छ । यस दिन ॐ नमो भगवते वासुदेवायः मन्त्रको जप गरेर गोदान, वस्त्र दान, छत्र, फल आदिको दान गर्नाले लाभ मिल्ने धार्मिक विश्वास छ ।

तुलसीको पूजा आराधाना हुने घरलाई तीर्थको रुप मानिन्छ । यस्तो घरमा यमदूत समेत प्रवेश गर्दैनन् भन्ने विश्वास समेत छ । तुलसी पत्रले हरि एवं हरको पूजा गर्नेले फेरि गर्भमा आउनु पर्दैन भन्ने मान्यता छ । तुलसीको पूजा आराधना गर्नेले मोक्ष प्राप्ति गर्छन् भनी विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *