आ.व. २०७६/७७ को दस महिनामा निक्षेप ११ प्रतिशत र कर्जा ११.१ प्रतिशतले बढ्याे
इन्भेष्टोपेपर । असार ३, २०७७
नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको आर्थिक वर्ष २०७६/७७ को दस महिनाको तथ्याङ्क अनुसार बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप ११ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ११.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ११.७ प्रतिशतले र कर्जा १७.१ प्रतिशतले बढेको थियो ।
वार्षिक बिन्दुगत आधारमा २०७७ वैशाख मसान्तमा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप १७.३ प्रतिशतले बढेको छ । यसैगरि २०७७ वैशाख मसान्तमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १३.२ प्रतिशतले बढेको छ ।
२०७७ वैशाख मसान्तमा चल्ती, बचत र मुद्दती निक्षेपको कुल निक्षेपमा क्रमशः ८.६ प्रतिशत, ३२.६ प्रतिशत र ४८.६ प्रतिशत अंश रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ८.७ प्रतिशत, ३२.८ प्रतिशत र ४७.८ प्रतिशत रहेको थियो ।
२०७७ वैशाख मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.३ प्रतिशत रहेको छ । २०७६ वैशाख मसान्तमा यस्तो निक्षेपको अंश ४५.७ प्रतिशत रहेको थियो ।
यसैगरि २०७७ वैशाख मसान्तमा लगानीमा रहेको कर्जामध्ये ६५.४ प्रतिशत घरजग्गाको धितोमा र १३.२ प्रतिशत चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७६ वैशाख मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४.२ प्रतिशत र १३.८ प्रतिशत रहेको थियो ।
