‘एनआरएन डेभलपमेन्ट फन्ड’ले पायो औपचारिकता

इन्भेष्टोपेपर । बैशाख ७, २०७

काठमाडौँ । गैरआवासीय नेपालीहरूको मुख्य लगानी रहने गरी स्थापना गरिएको एनआरएन डेभलपमेन्ट फन्डको औपचारिक घोषणा गरिएको छ । सोमबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा कोष स्थापनाको औपचारिक जानकारी गराइएको हो ।

गैरआवासीय नेपाली सङ्घ(एनआरएनए)को नेतृत्वमा स्थापना भएको कोष १० अर्ब रुपियाँको हुनेछ । उक्त कोषमा नेपाल सरकारले पाँच करोड लगानी गर्ने टुङ्गो लागिसकेको छ ।

कोषको औपचारिक घोषणा कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोषमार्फत छरिएको पुँजी सङ्गठित हुने मात्र नभई प्रविधिको पनि हस्तान्तरण हुने अपेक्षा राखिएको बताउनुभयो । सरकारको समेत लगानी रहेकाले राम्रो आयोजनामा लगानी गरेर त्यसको प्रतिफल सरकारलाई पनि हुने गरी काम गर्न उहाँले आग्रह गर्नुभयो ।

उहाँले गैरआवासीय नेपालीका समस्या समाधान गर्न सरकार तयार रहेकाले एनआरएनले पनि विदेशी लगानीकर्तासमक्ष दूत भएर काम गर्न आग्रह गर्नुभयो । नेपालमा पछिल्लो समय लगानीको वातावरण तयार भएकाले बैङ्किङ च्यानलबाटै लगानी आउनुपर्ने मन्त्री पौडेलको भनाइ थियो ।

हाललाई १० अर्बको कम्पनी स्थापना भएको भए पनि चाँडै नै एक खर्बको कोष बनाउने उक्त लिमिटेडका अध्यक्ष उपेन्द्र महतोले बताउनुभयो । उहाँले यो सुरुवाती लगानी मात्र भएको जानकारी दिँदै नेपालको विकासका लागि गैरआवासीय नेपालीले चाँडै एक खर्ब लगानी गर्ने बताउनुभयो ।

उक्त कम्पनीले पुँजी र प्रविधि मात्रै नभएर सुशासन र पारदर्शिता पनि भित्र्याउने जनाइएको छ । पैसा आएर बैङ्कमा थन्क्याउने मात्र नभई चाँडै नै परियोजनाहरूमा लगानी पनि गर्ने जनाइएको छ ।
एनआरएनका अध्यक्ष कुमार पन्तले व्यक्तिगत रूपमा एनआरएनबाट लगानी आएको भए पनि संस्थागत रूपमा भित्र्याउने  प्रयासले सार्थकता पाएको बताउनुभयो । कोष तत्कालका लागि १० अर्ब रुपियाँको भए पनि भविष्यमा एक खर्ब रुपियाँसम्मको पुग्न सक्ने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार कोषमार्फत खासगरी पूर्वाधार र पर्यटनका नाफामूलक परियोजनामा लगानी हुनेछ ।

राजस्व सचिव रामशरण पुडासैनीले आर्थिक वृद्धि र रोजगारी सिर्जना अहिलेको आवश्यकता भएको र आवश्यक लगानी आन्तरिक स्रोतले मात्रै नपुग्ने भएकाले एनआरएनलगायत अन्य विदेशी लगानी आवश्यक रहेको बताउनुभयो ।

अर्थ सचिव शिशिर ढुङ्गानाले यसलाई लगानी गर्ने कोषका रूपमा नभएर होल्डिङ कम्पनीका रूपमा विकास गर्दै थप लगानी ल्याउन सुझाव दिनुभयो ।

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले पनि नेपालमा लगानीको वातावरण तयार भएको बताउँदै थप लगानीका लागि आग्रह गर्नुभयो । कोषमार्फत हुने कुल लगानीमध्ये ८५ प्रतिशत प्राथमिक निष्कासन (आईपीओ) जारी गर्ने सङ्घको तयारी छ । यस्तो आईपीओमा एनआरएनले मात्र लगानी गर्न सक्नेछन् । लगानीका लागि सङ्घले प्रारम्भिक रूपमा दुई दर्जन बढी परियोजनाको प्रारम्भिक टुङ्गो लगाएको छ । सरकारले समेत प्राथमिकतामा राखेका विकास परियोजनालाई सहयोग पुग्ने गरी लगानी गर्ने सङ्घले जनाएको छ ।

गत चैत १७ गते कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको एनआरएन डेभलपमेन्ट फन्डको अध्यक्षमा हालै मात्र सङ्घकै संस्थापक अध्यक्ष उपेन्द्र महतो चयन हुनुभएको छ । फन्डको प्रमुख कार्यकारी अधिकृत भने बैङ्कर अनलराज भट्टराई चयन हुनुभएको सङ्घले जनाएको छ । याे समाचार गाेरखापत्र देनिकमा प्रकाशित गरिएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *