कविताः इच्छा
— बालकृष्ण सम
इच्छा यो छ महेश, अन्तिम जसै यो मृत्युसैया जली
मेरो रक्त सुकाउला म गरुँला अन्योल भै छट्पटी
त्यो बेला मुखमा बुटीहरु परुन् नेपालकै केवल
जे-जेमा हिमशैलको छ मधुरो मीठो चिसो चुम्बन ।१।
—– ++++ —– ++++ —– ++++
यो नेपाल स्वतन्त्र भै फुलिरहोस्, राजाप्रजामा सधैँ
झाँगी फैलिरहोस् बढेर लहरा यै शान्ति ऐर्श्वर्यको
यो सन्देश म ब्रहृमनाल तकिया पारी पठाउँ वहाँ
साक्षी शङ्कर छन् श्मसानपछिका आशा रहेका जहाँ ।२।
—– ++++ —– ++++ —– ++++
बज्ला मन्दिरमा “तथास्तु” जब यो घण्टा दिदै उत्तर
हाँस्तै शान्त भई उही समयमा नेपाल हेरी मरुँ ।
मेरो लाश पवित्र चन्दन घसोस्, कात्रो मलाई बनोस्
नेपाली सुकुमार हातहरुले खस्रा बुनेका लुगा ।३।
—– ++++ —– ++++ —– ++++
नेपाली वनका कपूर तुलसी श्रीखण्डका साथमा
प्यारो सुन्दर आर्यघाट तटको साझा चितामा जलूँ,
पाउँ बस्न मरेर आखिर गई स्वर्गीय त्यै ठाउँमा
नेपालीहरु छन् मरीकन सबै जन्मिरहेका जहाँ ।४।