कविता : जिल्लै परेको म छु

— हिरा भट्ट

छन्द : शार्दूलविक्रीडित

सिङ्गो देश छ रङ्गमञ्च सरिको नेता कलाकार छन्
छाएका अखबारमा दिनदिनै हाँस्ने समाचार छन्
श्रोता दर्शक छन् समस्त जनता भन्छिन् बुहारी लछू
बाजे जिल्ल,बुवा नि जिल्ल,बिचरो जिल्लै परेको म छु
।१।
फाटेका कपडा सिलाउँछु भनी चङ्खे मुसो तम्सियो
बोकाले अझ दाइँ गर्दछु भनी ताक्दैछ कुन्यू मियो
लेख्दा सत्य,छ जेलको डर सधैं भन्छिन् बुहारी लछू
काका जिल्ल र जिल्ल दाजु,बिचरो जिल्लै परेको म छु
।२।
चर्दा नित्य गधाहरू सँगसँगै छन् रुष्ट गाई कतै
हिंसा नीति विरुद्ध भाषण दिने आफै कसाई कतै
पार्टी मात्र छ देश छैन मुटुमा भन्छिन् बुहारी लछू
आमा जिल्ल,फूपू नि जिल्ल,बिचरो जिल्लै परेको म छु
।३।
मात्रै बेलुन भित्र आयतनको खोक्रो अहंकार छ
खेतीको क्षति गर्न तत्पर सधैं आफै स्वयं बार छ
घट्दो शान्ति छ बुद्धका नगरमा भन्छिन् बुहारी लछू
काकी जिल्ल,दिदी नि जिल्ल,बिचरो जिल्लै परेको म छु
।४।
ठट्टाले यदि देश चल्दछ भने सिद्धान्त के चाहियो
ऐनामा समकालको मुलुकको तस्वीर हाँसी रह्यो
छाओस् शीघ्र वसन्तको मधुरिमा भन्छिन् बुहारी लछू
साने जिल्ल,ठुले नि जिल्ल,बिचरो जिल्लै परेको म छु
।५।

जन्मस्थल : पञ्चेश्वर-६, बिजुल, बैतडी

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *