गोर्खा ब्वाइज रूपन्देही, चौँथो भोजपुर गोल्डकपको च्याम्पियन
इन्भेष्टोपेपर । बैशाख १२, २०७८
भोजपुर । गोर्खा ब्वाइज स्पोर्टस् क्लब रूपन्देही चौँथो अन्तर्राष्ट्रिय आमन्त्रण भोजपुर गोल्डकपको च्याम्पियन बनेको छ। शनिबार स्थानीय टुँडिखेलमा भएको फाइनलमा अफ्रिकन रुट्स एसोसियसन क्यामरुनलाई १–० ले हराउँदै गोर्खा ब्वाइजले उपाधिमाथि कब्जा जमाएको हो।
खेलको निर्धारित समयमा दुवै टिमबाट कुनै गोल हुन नसकेपछि थपिएको अतिरिक्त समयमा गोर्खा ब्वाइजले गोल गर्न सफल भएको थियो। थपिएको पहिलो अतिरिक्त समयको छैठौँ मिनेटमा गोर्खा ब्वाइजका पेपेले गरेको गोल नै निर्णायक बनेपछि गोर्खा ब्वाइजको जित सुनिश्चित बनेको थियो।
निकै प्रतिस्पर्धात्मक उक्त खेलमा दुवै टिम आक्रमक शैलीमा मैदान उत्रिएका थिए। सुन्दर अवसर पाए पनि दुवै टोलीबाट कुनै पनि प्रहार गोलमा परिणत हुन सकेन। निकै संघर्षरत बनेको अफ्रिकन रुट्सले थपिएको दोश्रो अतिरिक्त समयमा पनि गोल फर्काउन नसकेपछि अफ्रिकन टोलीले हार टार्न सकेन। म्यान अफ दि म्याचसमेत बनेका पेपेले प्रतियोगिता अवधिभर राम्रो प्रदर्शन गरे।
जितसँगै गोर्खा ब्वाइजले पाँच लाख नगदसहित ट्रफि हात पारे। यस्तै उपविजेता बनेको अफ्रिकन रुट्सले तीन लाख नगद जितेको छ। प्रतियोगितामा उत्कृष्ट गोलकिपर गोर्खा ब्वाइजका अरुण लामा, सर्वोत्कृष्ट खेलाडी गोर्खा ब्वाइजकै पेपे, सर्वाधिक गोलकर्ता अफ्रिकन रुट्स एसोसियसनका एम्फोमो, उत्कृष्ट मिडफिल्डर अफ्रिकन रुट्सकै एन रोनाल्डो र उत्कृष्ट डिफेन्डर गोर्खा ब्वाइजका मनोज श्रेष्ठ घोषित भए। जिल्ला फुटबल संघ भोजपुरको आयोजना र भोजपुर नगरपालिकाको प्रायोजन रहेको उक्त प्रतियोगितामा विदेशीसहित आठ टिमको सहभागिता थियो। (अन्नपुर्ण पाेष्टबाट)
