चन्द्रागिरी हिल्स प्रालिले १५ करोडको आईपिओ जारी गर्ने
Investopaper, January 2, 2019
चन्द्रागिरी केबलकार सञ्चालन गरिरहेको चन्द्रागिरी हिल्स प्रालिले १५ करोड रुयैयाँ बराबरको १५ लाख कित्ता साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता एक सयमा साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ । कम्पनीले यही पुस ३० गते हुने वार्षिक साधारण सभामा शेयर (आईपिओ) बिक्रीका लागि विशेष प्रस्ताव प्रस्तुत गरिने छ ।
कम्पनीकाे चुक्ता पूँजी एक अर्ब ५० करोडको १० प्रतिशतको दरले हुन आउने साधारण शेयर बिक्रीका लागि साधारण सभाले प्रस्ताव पारित गर्नेछ । साथै कम्पनीले साधारणसभा बाट संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने संचालकको समेत निर्वाचन गर्नेछ ।
२०७३ सालदेखि सञ्चालनमा आएको उक्त केबलकार आईएमई ग्रुप लगायत अन्य व्यवसायिक घरनाले सञ्चालनमा ल्याएको हो । चालू आर्थिक वर्षको बजेट वक्तव्यमा समेत एक अर्बभन्दा बढी लगानी भएका निजी तथा व्यावसायिक संस्थालाई साधारण शेयर बिक्री गरी लिमिटेड कम्पनीमा परिवर्तन गर्न प्रोत्साहन गर्ने नीति लिइएको छ ।
काठमाडौं र मकवानपुर जिल्ला सिमानामा अवस्थित चन्द्रागिरीको डाँडोमा कम्पनीले केवलकारको अतिरित्त वाल उद्यान तथा कन्फ्रेन्स हल सहितकाे रिसोर्ट समेत सञ्चालनमा ल्याउदै छ ।