टोकियोमा संकटकालको अवधि पुन: लम्बियो

इन्भेष्टाेपेपर । फागुन २२, २०७७

टोकियो (जापान) । जापानको राजधानी टोकियो क्षेत्रमा संकटकालको अवधि फेरि थप गरिएको छ । 

प्रधानमन्त्री योशिहिडे सुगाले टोकियो महानगर क्षेत्रमा संकटकालको अवधि फेरि थप गरिएको शुक्रवार घोषणा गरेका हुन् । कोरोना भाइरसको महामारी नियन्त्रणमा आइनसकेकाले संकटकालको अवधि थप्नु परेको उनको भनाइ छ । 

संकटकाल आगामी मार्च २१ तारिखसम्मका लागि थप गरिएको प्रधानमन्त्री सुगाले जानकारी दिए । राजधानी टोकियोसँगै आसपासका कनगवा, चिबा र सैताममा पनि संकटकाल लम्बिने उनले बताए । 

कोरोना महामारी व्यवस्थापनका लागि सरकारले गठन गरेको ‘टास्क फोर्स’सँगको परामर्शका आधारमा उनले संकटकाल लम्ब्याउने निर्णय गरेका हुन् । 

प्रधानमन्त्री सुगाले संकटकालको म्याद अहिले दोस्रो पटक थप गरेका हुन् । उनले गत जनवरीमा संकटकालको घोषणा गरेका हुन् । 

उनले कारोना भाइरसबाट संक्रमित भएकाहरुको दैनिक संख्यामा कमी नआएकाले उच्च सतर्कता अपनाउन हेलचक्रयाइ नगर्न पनि सबैलाई आह्वान गरेका छन् ।

स्वास्थ्य विज्ञ तथा स्थानीय सरकारी अधिकारीहरुले पनि महामारी अझ बढी फैलिने खतरा रहेकाले संकटकाल लम्ब्याउनु पर्नेमा जोड दिँदै आएका थिए ।  

संकटकाल लागू गरिएपनि केही कुराहरूमा भने लचकता अपनाइएको अधिकारीहरुले जानकारी दिएका छन् । बार तथा रेस्टुरेन्टहरु केही समय खोल्न पाइने, तर आधारभूत सतर्कता भने अपनाउने पर्ने सर्त राखिएको छ । भेला हुने तथा भिडभाड हुने गतिविधि गर्न भने पूर्ण रूपमा प्रतिवन्ध लगाइएको छ । 

जापानको राजधानी टोकियोमा मात्रै शुक्रवार पनि थप ३०१ जना संक्रमित भएका छन् । योसँगै टोकियोमा मात्रै कुल संक्रमितको संख्या एक लाख १२ हजार ९२५ पुगेको अधिकारीहरूले जानकारी दिएका छन् ।

कोरोना भाइरसका कारण जापानमा हालसम्म आठ हजार २११ जनाको मृत्यु भएको छ । ती मध्ये ५५ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *