नयाँ चिनियाँ भाइरस फैलनसक्ने भन्दै सबै अस्पताललाई सजग रहन डब्लूएचओको आग्रह

माघ १, २०७६ |Investopaper

जेनेभा — विश्व स्वास्थ्य संगठनले चीनको वुहान सहरमा देखिएको नयाँ प्रकारको कोरोनाभाइरस त्यहाँ महामारीको रुपमा फैलिएको हुनसक्ने आशंका गरेको छ । कोरोनाभाइरस यस्तो प्रकारको भाइरस हो जसले सामान्य रुघाखोकीदेखि सार्स जस्तो जटिल संक्रमण हुनसक्दछ ।

थाइल्याण्डमानयाँ प्रकारको स्ट्रेनसहितको कोरोनाभाइरसभेटिएपछि एक चिनियाँ महिलालाई त्यहाँका अधिकारीहरुले क्वारेन्टाइनमा राखेर उपचार गरिरहेका छन्। थाइ अधिकारीका अनुसार चीनभन्दा बाहिर यसप्रकारको भाइरस भेटिएको यो पहिलो घटना हो।

चीनको केन्द्रमा रहेको वुहान सहरमा ४१ जना निमोनिया भएका बिरामीको जाँच गर्दा सबैमा नयाँ प्रकारको कोरोनाभाइरस रहेको पत्ता लागेको थियो। जसमध्ये एकजनाको मृत्यु समेत भएको छ। त्यसपछि त्यहाँ कुनै नयाँ बिरामी नभेटिएको वुहानका स्वास्थ्य अधिकारीहरुले दाबी गरेका छन्।
‘हामीसँग भएको सूचना अनुसार हाल यो मान्छे–मान्छेमा मात्रै सरेको देखिएको छ, त्यो पनि आफ्नै परिवार भित्र। र, यो अन्यत्र फैलिएको छैन भन्ने देखिन्छ,’ विश्व स्वास्थ्य संगठनको नयाँ रोग विभागकी कायममुकायम प्रमुख मारिया भान केखोभले भनिन्।

यद्यपी विश्व स्वास्थ्य संगठनले भने यो अझै ठूलो संख्यामा फैलिएको हुनसक्ने आशंका जेनेभामा मंगलबार भएको प्रेस ब्रिफिङमा बताएको थियो। ‘अहिले सुरुवाती अवस्था रहेकोले केही ठोकुवा गर्न मिल्ने स्थिति छैन,’ ब्रिफिङमा भनिएको थियो।

विश्व स्वास्थ्य संगठनले संसारभरका अस्पतालहरुलाई उक्त संक्रमणका बारे जानकारी दिँदै भाइरस देखिएमा त्यसलाई फैलन नदिने उपाय अपनाउन आग्रह गरेको छ। यो नयाँ भाइरसका लागि कुनै यकिन उपचार नभएपनि एन्टीभाइरल औषधिहरुले नै काम गर्नसक्ने अनुमान गरिएको छ।

चिनियाँ नयाँ वर्ष नजिकिँदै गर्दा सो समयमा घुम्न निस्कने चिनियाँ पर्यटकहरुबाट रोग फैलनसक्ने आशंका विश्व स्वास्थ्य संगठनले गर्दै विशेष गरेर थाइल्याण्डका अधिकारीहरुलाई उच्च सतर्कता अप्नाउन सुझाएको छ। हालै वुहान भ्रमण गरेका जो कोहीलाई पनि रुघाखोकी र ज्वरो आए तत्काल स्वास्थ्यकर्मीलाई देखाउन पनि आग्रह गरिएको छ।

— राेयटर्स/कान्तिपुर

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *