नेपाल टेलिकमले ल्याएको ‘एनटी च्याटबोट’ सेवा सञ्चालन

इन्भेष्टाेपेपर । फागुन ०५, २०७७

नेपाल टेलिकमका विभिन्न सेवाहरु तथा सेवा प्रदान गर्ने विधिहरुको बारेमा कम्पनीको वेबसाइटबाटै च्याटमार्फत स्वचालित रुपमा जानकारी प्राप्त गर्न सकिने गरी एनटी च्याटबोट सेवा शुभारम्भ गरिएको छ ।

कम्पनीको वेबसाइट www.ntc.net.np खोल्नासाथ शुुरु पेजमा एनटी च्याटबोटको सानो स्क्रिन स्वचालित रुपमा देखापर्दछ । त्यहाँ Need Help ? Welcome to NT Chatbot (निड हेल्प ? वेलकम टु एनटी च्याटबोट) भनेर लेखिएको छ । यसमा कम्पनीका विभिन्न सेवाहरुको बारेमा जानकारी लिनका लागि उपलब्ध विकल्पको छनौट गर्न तथा नेपाली/अंग्रेजी भाषा छनौट गरी प्रश्न लेखेर जिज्ञासा राख्न सकिन्छ ।

कम्पनीका विभिन्न सेवाहरु फोरजी, एफटीटीएच, जीएसएम प्रिपेड, जीएसएम पोस्टपेड, ल्यान्डलाइन, एनटी एप, अनलाइन रिचार्ज, अफर, प्याकेज आदिका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ । त्यसैगरी विभिन्न सेवाहरुका बारेमा फिडब्याक दिन र सिकायत/गुनासो समेत गर्न सकिन्छ । सिकायत वा गुनासोको सम्बोधन च्याटबोटमार्फत स्वचालित रुपमा हुन नसकेमा कम्पनीको सम्बन्धित विभाग/पदाधिकारीले अध्ययन गरी गुनासो व्यवस्थापन गर्ने व्यवस्था मिलाइएकाे छ ।

एनटी च्याटबोट सेवाले वेबसाइटमा राखिएका विवरणका आधारमा स्वचालित रुपमा जानकारी उपलब्ध गराउँछ । कम्पनीका सेवाग्राहीले कुनै सेवाका बारेमा थप जानकारी लिनुपरेमा एनटी च्याटबोट बाहेक कम्पनीका सामाजिक सञ्जालहरु (facebook, twitter, viber community, instagram) प्रयोग गर्न सक्दछन् । ग्राहकहरुले कम्पनीको ‘नेपाल टेलिकम एप’ बाट पनि सेवा तथा सुविधाहरुका बारेमा विभिन्न जानकारी प्राप्त गर्न सक्दछन् ।

गत माघ २२ गते कम्पनीको १७औं वार्षिकोत्सवको अवसरमा माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले एनटी च्याटबोट सेवाको शुभारम्भ गर्नुभएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *