बोनस र राइट शेयर पछि शेयर मूल्य कसरी समायोजन हुन्छ त?
नेपालको शेयर बजारमा बोनस र राइटको (हकप्रद) समाचारले सबैको ध्यानाकर्षण गर्छ। आफूले लगानी गरेको कम्पनीले राम्रो नगद लाभांश र बोनस शेयर बाड्दा घटिरहेको बजारमा पनि लगानीकर्ताले राहत महसुस गर्न सक्छन्। राम्रो नाफा गर्ने कम्पनीले शेयरधनीलाई राम्रो लाभांश बाड्न सक्छ। निरन्तर राम्रो लाभांश दिने कम्पनीले लगानीकर्तालाई आकर्षित पनि गर्छ।
यसैगरी कम्पनीलाई थप पुँजीको आवश्यकता हुँदा उसले आफ्ना शेयरधनीहरुलाई थप शेयर दिन हकप्रद शेयर जारी गर्छ।
हकप्रद र बोनस बाँडेपछि कम्पनीको शेयर मूल्य समायोजन हुन्छ। बोनस र राइट पछि कम्पनीको शेयर पुँजीमा बृद्धि हुन्छ र जारी शेयरको अंकमा पनि बृद्धि हुन्छ। यसकारण शेयरको बजार मूल्यांकनलाई उही राख्न बोनस वा हकप्रद जारी गर्ने कम्पनी को शेयरको बजार मूल्य समायोजन गरिन्छ।
बोनस र हकप्रद पछि शेयर मूल्य कसरी समायोजन हुन्छ त? एउटा उदाहरण मार्फत हेरौ है त मूल्य समायोजन कसरी हुन्छ। यो बर्ष एन.आई.सी एसियाले आफूले कमाएको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस दिएको थियो। बोनस बा राइटको मूल्य समायोजन जहिले पनि कम्पनीले तोकेको बुकक्लोज मितिको अघिल्लो दिनको बन्द मूल्यको आधारमा गरिन्छ। बुकक्लोज मिति पश्चात शेयर किन्ने शेयरधनीले बोनस शेयर पाउँदैनन्।
मानौ एन.आई.सी एसियाको बुकक्लोज मिति अघि शेयर मूल्य रु.३५० मा बन्द भयो। अब अर्को दिन कम्पनीको शेयर कारोबारमा आउँदा मूल्य समायोजन भएर आउँछ। समायोजन हँदा प्रयोग हुने सूत्र यस्तो छ।
समायोजित मूल्य = बजार मूल्य / (१ + बोनस प्रतिशत)
अब यही सूत्र प्रयोग गर्दा एन.आई.सी एसियाको समायोजित मूल्य कति हुन्छ त?
समायोजित मूल्य= ३५०/(१+०.१०) =३१८.१८
मानौ तपाईसँग एन.आई.सी एसियाको १०० कित्ता शेयर छ। शेयर समायोजन हुनु अघि तपाईको बजार मूल्यांकन रु. ३५०००० थियो। अब शेयर समायोजन पछि पनि त्यसको बजार मूल्यांकन उही नै हुन्छ। तपाईले १० प्रतिशतको हिसाबले १० कित्ता शेयर पाउन हुन्छ। यसकारण ११० र ३१८.१८ गुणान गर्दा ३५००० नै हुन्छ।
हकप्रदको शूत्र भने अलि फरक छ।
समायोजित मूल्य= बजार मूल्य+(हकप्रद जारी मूल्य *हकप्रद प्रतिशत)/(१+हकप्रद प्रतिशत) माथिको उदाहरणमा एन.आई.सीले दश प्रतिशत बोनस को ठाउँमा १० प्रतिशत हकप्रद प्रति कित्ता १०० रुपैयाको दरले जारी गरेको भए यसरी समायोजन हुन्थ्यो।
समायोजित मूल्य = ३५०+(०.१०*१००)/(१+०.१०)=३२७.२७
यसरी समायोजन हुँदा पनि शेयरधनीको शेयरको बजार मूल्यांकन उही नै रहन्छ।