हुवावेईका स्मार्टफोनको विक्री घट्यो

इन्भेष्टाेपेपर । माघ १६, २०७७

पेचिङ  । चिनियाँ टेलिकम कम्पनी हुवावेईले उत्पादन गरेको स्मार्टफोन (मोबाइल) को विक्री सन् २०२० को अन्तिम त्रैमासिकमा निकै धेरै घटेको पछिल्लो विवरणमा उल्लेख छ ।     
     
अनुसन्धान संस्था क्यानालिसका अनुसार, हुवावेईमाथि अमेरिकाले लगाएका प्रतिबन्धहरुका कारण हुवावेईका स्मार्टफोनहरुको विक्रीमा ठूलो असर परेको हो ।     
     
गत वर्ष अक्टोबरदेखि डिसेम्बरमा चीनभित्र हुवावेईका स्मार्टफोनको विक्रीमा ४४ प्रतिशतले कमी आई १ करोड ८८ लाख थान विक्री भएको क्यानालिसले बताएको छ । औद्योगिक विश्लेषण गर्ने इन्टरनेसनल डेटा कर्प (आईडीसी) ले पनि गत साता सार्वजनिक गरेको विवरणमा चीनबाट अन्यत्र मुलुकमा पठाइएका मोबाइल सेटको संख्यामा ४३ प्रतिशतले कमी आई ३ करोड २० लाख रहेको बताएको थियो ।     
     
क्यानालिसका अनुसन्धाता निकोल पेङले देशभित्रै पनि हुवावेई निकै कठिन समयबाट गुज्रिरहेको बताए। अमेरिकी प्रतिबन्धहरुका कारण हुवावेईले देशको आन्तरिक मागलाई पनि पूरा गर्न समस्या भइरहेको उनको भनाइ छ ।     
     
पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुवावेई राष्ट्रिय सुरक्षाका लागि खतरा रहेको भन्दै अमेरिकी बजारमा हुवावेईको प्रवेशलाई निषेध गर्नुका साथै अमेरिकी गठबन्धनका अन्य मुलुकलाई समेत यही नीति अबलम्बन गर्न दबाब दिएका थिए ।  
     
हुवावेईले मोबाइल डिभाइसका अतिरिक्त पाँचौं पुस्ताको तिब्र गतिको इन्टरनेट र दूरसंचार उपकरणहरु पनि उत्पादन गरिरहेको छ ।     
     
हुवावेईले चीनका लागि जासुसी गर्ने गरेको अमेरिकी दाबी असत्य रहेको उसले बताउँदै आएको छ । अमेरिकी सरकारले हुवावेईले जासुसी गरेको आरोप पुष्टी गर्न नसकेको पनि उसले  बताएको छ ।    
     
हुवावेई गत वर्ष केही समय विश्वमै सबैभन्दा बढी फोन उत्पादक कम्पनी बनेको थियो । हाल विश्वमा सामसुङ, एप्पल मात्र होइन चिनियाँ कम्पनीहरु साओमी र ओप्पोभन्दा पछि हुवावेई छ । 

(रासस / एएफपी)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *