१ सय २० मेगावाटको रसुवा–भोटेकोशी जलविद्युत् आयोजनाको शिलान्यास

Investopaper, पौष १६, २०७६

काठमाडौं– ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ रसुवा–भोटेकोशी जलविद्युत् आयोजनाको शिलान्यास भएको छ । १ सय २० मेगावाट क्षमताको उक्त आयोजनाको मंगलबार रसुवाको गोसाइँकुण्ड गाउँपालिका–१ रोङ्गामा शिलान्यास गरिएको हो ।

रसुवाको गोसाइँकुण्ड–१ र आमाछोदिङ्मो गाउँपालिका–५ मा निर्माण गर्न लागिएको उक्त आयोजनाको आयोजना निर्देशक दीपक खड्का, गोसाइँकुण्डका अध्यक्ष कैसाङ नुर्पू तामाङ तथा चिनियाँ निर्माण कम्पनी सिचुवान हुवानी इनर्जी इन्भेष्टमेन्ट कम्पनी लिमिटेडका अध्यक्ष लिउ जियन झिनले संयुक्तरूपमा शिलान्यास गर्नुभयाे । झण्डै २० अर्ब ३९ करोड रुपैयाँ लागत रहेको सो आयोजनामा चिनियाँ निर्माण कम्पनीको ९० प्रतिशत तथा नेपाली पक्षको १० प्रतिशत लगानी रहनेछ ।

आयोजनाका निर्देशक खड्काले तोकिएकै समयमा निर्माण सम्पन्न गर्नेगरी काम अघि बढेको बताउनु भयाे । आयोजना सम्पन्न गर्न स्थानीयवासीको सहयोग आवश्यक रहेको समेत उल्लेख गर्नुभयाे ।

करीब १२ वर्षअघि सो आयोजना निर्माणबारे अध्ययन थालिएको थियो । यस अवधिमा पटक–पटकको छलफलपछि चिनियाँ लगानीकर्ता लगानी गर्न सहमत भएको निर्देशक खड्काले बताउनु भयाे ।

आयोजना निर्माण गर्न उक्त कम्पनीले ६ वर्षअघि स्वीकृति लिएको हो । आयोजनाको सुरुङ निर्माण थालिएको छ । फङलुङखोला र भोटेकोशीको दोभानदेखि करीब १५० मिटरमाथि भोटेकोशीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ ।

यस क्रममा ४ हजार ८ सय ३५ मिटर लामो सुरुङ निर्माण गरिनेछ भने चिलिमेखोला र भोटेकोशीको सङ्गमस्थलमा विद्युतगृह (पावर हाउस) निमार्ण गरिने आयोजनाले जनाएको छ ।

उत्पादन गरिएको विद्युत् १३२ केभी प्रसारण लाइनमार्फत चिलिमे जलविद्युत् आयोजनाको चिलिमे ‘हब’मा जडान गरिने निर्देशक खड्काले जानकारी दिनुभयाे ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *