अमेरिकामा चर्केकाे आन्दोलनका क्रममा ५५ अरब यूएस डलर बराबरको क्षति

इन्भेष्टोपेपर ।  जेष्ठ  २३, २०७७

मिनियापोलिस । अमेरिकाको मिनियापोलिसमा एक जना अफ्रिकीमुलका अमेरिकी नागरिकको निधन भएपछि चर्केको आन्दोलनका क्रममा झण्डै ५५ अरब अमेरिकी डलर बराबरको क्षति भएको छ ।

मिनियापोलिसका अधिकारीहरुले दिएको जानकारी अनुसार आन्दोलनका क्रममा भएको लुटपाट, आगजनी र तोडफोडका कारण यति ठूलो रकम बराबरको क्षति भएको हो ।

उनीहरुले अहिलेसम्मको प्रारम्भिक विवरण अनुसार २२० घरमा क्षति भएको छ भने क्षति भएका भवनहरुको सङ्ख्या त्योभन्दा बढी हुनसक्ने अनुमान गरेका छन् । प्रहरी नियन्त्रणमा रहेका बेला अफ्रिकीमुलका अमेरिकी नागरिक जर्ज फ्लोइडको मृत्यु भएपछि उनको हत्या भएकोभन्दै देशभरी प्रदर्शन भइरहेको छ ।

मिनियापोलिसका मेयर जाकोब फ्रेयीले क्षति भएकाहरुलाई पुनर्निर्माण गर्न क्षतिपुर्तिका लागि राज्य तथा संघीय सरकारसँग आग्रह गरिने जानकारी दिनुभयो ।

अफ्रिकी अमेरिकी ती व्यक्तिलाई न्याय दिलाउन माग गर्दै हजारौँ प्रदर्शनकारीले देशभरी प्रदर्शन गर्दै आइरहेका छन् । आन्दोलन हिंसात्मक हुदै गएपछि सरकारले देशका ४० भन्दा बढी सहरमा समय तोकेर निषेधाज्ञा आदेश पनि जारी गर्नु परेको थियो ।

कतिपय ठाउँमा निषेधाज्ञा पनि तोडेर प्रदर्शनकारीहरुले आन्दोलनलाई चर्काउँदै लगेका थिए । प्रदर्शनकारी र प्रहरीका बीचमा धेरै ठाउँमा झडप भएका थिए भने आन्दोलनका क्रममा कम्तीमा १२ जनाको मृत्यु पनि भएको छ । यो बीचमा हजारौँ पक्राउ परेका छन् भने सयौँ घाइते भएका छन् ।

— रासस / एपी

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *