ऊर्जा सम्मेलन २०१९ काे प्रमुख मुद्दा विद्युत् व्यापार
Investopaper, मंसिर ०३, २०७६
काठमाडौं । मुलुक विद्युत् बढी हुने (सरप्लस) अवस्थामा जाँदै गर्दा मंसिरको पहिलो साता हुने ऊर्जा सम्मेलनको प्रमुख मुद्दा विद्युत् व्यापार हुने भएको छ । सम्मेलनमा आन्तरिक विद्युत् बजार, विद्युत् बजारको नियमनका साथै क्षेत्रीय विद्युत् व्यापारको अवस्था तथा सम्भावना जस्ता विषयमा छलफल हुनेछ । छलफलमा विशेषतः नेपाल, भारत, बंगलादेश, भुटान, चीन लगायतका देशका ऊर्जासम्बद्ध मन्त्रीका साथै सरकारी निकाय तथा निजीक्षेत्रका प्रतिनिधिहरू संलग्न हुनेछन् ।
बजारको व्यापकता नहुँदा उत्पादित विद्युत् सरप्लस हुने अवस्था आएकाले नेपाल विद्युत् प्राधिकरणले निजीक्षेत्रबाट उत्पादित सबै विद्युत् किन्ने (टेक अर पे) सम्झौता गर्नबाट पछि हटिरहेको छ । त्यसैले बजार सुनिश्चितताका लागि यो पटकको सम्मेलनको मूल मुद्दा विद्युत् व्यापार बनाइएको आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को भनाइ छ ।
सरकारले २०८५ सालसम्ममा १५ हजार मेगावाट विद्युत् उत्पादन गरी १० हजार मेगावाट आन्तरिक खपत गर्ने र ५ हजार मेगावाट निर्यात गर्ने घोषणा गरेको छ । यसक्रममा करीब ५ हजार ५०० मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माण भएका तथा निर्माण पूर्वका विभिन्न चरणमा पुग्नुका साथै करीब १८ हजार मेगावाट क्षमताका आयोजना अध्ययनमा रहेको इप्पानले बताएको छ ।
सरकारको योजनाभन्दा बढी क्षमताका आयोजना कार्यान्वयनका क्रममा रहेकाले तिनबाट उत्पादन हुने विद्युत् व्यापारका लागि पहल थाल्नु अत्यावश्यक भइसकेको इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईंले बताए । हालसम्म देशभित्र विद्युत् वितरण गर्ने तथा भारतसँग विद्युत् आदान–प्रदान गर्ने काम नेपाल विद्युत् प्राधिकरणले गर्दै आएको छ । तर विद्युत् सरप्लस हुने दिन नजिकिइरहेका कारण विद्युत् व्यापारको ढाँचा तय गर्नुका साथै निजीक्षेत्रलाई पनि विद्युत् व्यापारको ढोका खुला गर्नुपर्नेमा निजीक्षेत्रको जोड छ ।
सम्मेलनको तयारीका सम्बन्धमा जानकारी दिन इप्पानले सोमवार पत्रकार सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनमा इप्पानका उपाध्यक्ष कुमार पाण्डेले हामीलाई बढी भएको विद्युत् दिने मात्रै नभई मूल्य निर्धारण गरेर व्यापार नै थालिनु पर्ने बताए ।
रातिको समयमा करीब ४० मेगावाटसम्म विद्युत् भारत निर्यात गर्दै आएको नेपालले गएको साउनमा बाढीका कारण आन्तरिक वितरणमा अवरोध आउँदा २०० मेगावाटसम्म निर्यात गरेको थियो । तर उक्त निर्यात विद्युत् व्यापार नभई भारतबाट आयात गरिने विद्युत्को भुक्तानीमा कटौती गर्ने गरी हुँदै आएको छ ।
भारतले छिमेकी देशहरूबाट १६ हजार मेगावाट र बंगलादेशले नेपालबाट मात्रै ९ हजार मेगावाट जलविद्युत् किन्न सक्ने सम्भावना रहेको इप्पानका अधिकारीहरूको दाबी छ । तर नेपालको जलविद्युत्मा भारत र बंगलादेशको लगानी नभएसम्म उक्त देशहरूलाई विद्युत् व्यापार गर्ने कुरा सुनिश्चित नहुने इप्पानका महासचिव आशिष गर्ग बताउँछन् ।
आसन्न सम्मेलनले क्षेत्रीय विद्युत् व्यापारका लागि सम्बन्धित देशहरूलाई थप झक्झक्याउनुका साथै विद्युत् व्यापारमा निजीक्षेत्रको भूमिकाको खोजी हुने अपेक्षा इप्पानले गरेको छ । याे समाचार आजकाे आर्थिक अभियानमा प्रकाशित भएकाे छ ।
