एक आर्थिक वर्षमै सम्पन्न हुने आयोजनाको भदौमा बोलपत्र आह्वान गरिने: मन्त्री नेम्वाङ

इन्भेष्टोपेपर ।  श्रायण ०५, २०७७ 

काठमाण्डौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले एक आर्थिक वर्षमै सम्पन्न हुने आयोजनाको भदौसम्ममा बोलपत्र आह्वान गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आज बसेको बैठकमा उहाँले आयोजनाको बोलपत्र आह्वान आर्थिक वर्षको शुरुकै महिनामा गरिने दृढता व्यक्त गर्नुभयो ।

एक वर्षमा सम्पन्न हुने आयोजनामा सकेसम्म भदौ र नसके असोजसम्ममा बोलपत्र आह्वान गरिने उहाँको भनाइ थियो । त्यस्तै एक वर्षभन्दा लामो समयको आयोजनालाई दशैँतिहार, छठलगायत चाडपर्वभन्दा पहिले नै ठेक्का प्रक्रिया शुरु गरिने उहाँको प्रतिबद्धता थियो । उहाँले भन्नुभयो, “मन्त्रालयले गर्ने विकासनिर्माणमा असार कुर्ने होइन, समयमा नै काम गर्छौँ ।”

मन्त्री नेम्वाङले अर्को प्रसङ्गमा भौतिक मन्त्रालयमा दरबन्दीभन्दा धेरै कम जनशक्ति कार्यरत रहेको बताउनुभयो । मन्त्रालय र मातहतका कार्यालयमा कर्मचारी पहिलो श्रेणीका १३, दोस्रो श्रेणीका ४०, इञ्जिनीयर ११६ र सबइञ्जिनीयर १५० दरबन्दी रिक्त छन् । मन्त्रालयले सङ्गठन तथा व्यवस्थापन निर्देशिका स्वीकृतिका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएकामा फाइल त्यहीँ अड्किएको उहाँले बताउनुभयो ।

केही वर्ष पहिलेसम्म झोलुङ्गे पुल भए पुग्ने स्थानमा अहिले दुई लेनको सडक पुल आवश्यक भएको मन्त्रालयले जनाएको छ । देशभरमा अहिले झण्डै एक हजार पाँच सय पुल निर्माणाधीन भए पनि तीमध्ये एक वर्षमा दुईदेखि तीन सयसम्म मात्रै सम्पन्न गर्न सक्ने क्षमता व्यवसायीको भएको बताइएको छ । मन्त्री नेम्वाङले भन्नुभयो, “त्यसैले पनि कुन ठाउँमा कति पुल बढी आवश्यक छ भनी हामीले छुट्टाउनैपर्छ ।”

सो अवसरमा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले पुलका नयाँ योजना थप्नेभन्दा भएकै योजना पूरा गर्नुपर्नेमा जोड दिनुभयो । अहिलेसम्म सङ्घीय सरकारले नै स्थानीय र प्रदेश सडकमा पुल निर्माण गरिरहेको बताउँदै उहाँले भन्नुभयो, “केही समयका लागि त्यही उपयुक्त होला तर विस्तारै हामीले जिम्मेवारी हस्तान्तरण गर्दै जानुपर्छ ।”

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले पहिले असारे विकास भनिए पनि अहिले निर्माणका काम मङ्सिरपुसमै भइरहेको बताउनुभयो । कतिपय स्थानमा पुल निर्माण सयमभन्दा ढिलाइ भइरहे पनि कतिपय स्थानमा निर्माण व्यवसायीले समयभन्दा पहिले नै पुल सम्पन्न गरिरहेको जिकिर उहाँले गर्नुभयो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *