करोडौँ वर्ष पुराना सूक्ष्मजीव प्रयोगशालामा बिउँतिए

इन्भेष्टोपेपर ।  श्रायण १६, २०७७ 

जापानी वैज्ञानिकहरूले १० करोड वर्षभन्दा अघिदेखि निष्क्रिय स्थितिमा रहेका सूक्ष्मजीवहरूलाई पुनर्जीवित पारेको घोषणा गरेका छन्।

ती सूक्ष्मजीवहरू दक्षिण प्रशान्त महासागरको पीँधमा पर्याप्त अक्सिजन भएको तर पोषक तत्त्व नभएको थिगरमा फेला परेका हुन्। उन्नत जीव र वनस्पतिहरू बस्न नसक्ने चरम परिस्थतिमा पनि सूक्ष्मजीवहरू जीवित रहन सक्छन्।

प्रयोगशालामा वृद्धि र विकासका लागि यथोचित परिस्थितिमा राखिएपछि ती सूक्ष्मजीवहरूले खान थालेका र सङ्ख्या विस्तार गरेका थिए।

“तिनलाई फेला पार्दा पहिला मलाई कुनै गल्ती पो भयो कि वा प्रयोग विफल पो भएको हो कि भन्ने संशय थियो,” शोधका प्रमुख लेखक युकि मोरोनोले समाचार संस्था एएफपीलाई बताए। “अहिले हामीलाई समुद्रको पीँधमा हुने जीवमण्डलको निश्चित आयु नहुने थाहा भएको छ,” उनले भने।

उक्त अनुसन्धानमा संलग्न यूनिभर्सिटी अफ रोड आईलन्डका प्राध्यापक स्टीभन डि’होन्ड्टका अनुसार समुद्रको पीँधबाट सङ्कलित पुराना नमुनाहरूमा ती सूक्ष्मजीवहरू फेला परेका हुन्।

आफ्नो टोलीले खनेको थिगरमा खाद्यपदार्थ एकदमै थोरै भए पनि त्यसमा अझै जीवहरू भएको बताउँदै उनी भन्छन्, “अनि ती बिउँतिन, हुर्किन तथा सङ्ख्या विस्तार गर्न सक्छन्।”

पहिलेका अध्ययनहरूले ब्याक्टेरिया कसरी अक्सिजन पनि उपलब्ध नहुने समुद्रभित्रका गहिरा खाडलहरूमा जीवित रहन्छन् भन्ने पत्ता लगाएका थिए। अहिलेको अध्ययनको परिणामबाट पृथ्वीको सरलतम जीवमा “वास्तवमा आयुको अवधारणा” नै नभएको देखिएको मोरोनोले बताए।

— बीबीसीबाट

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *