कविता : ए कवि ! लेख्छौर गाँठी कुरा ?
— हृदय लेकाली (राम बस्नेत)
छन्द : शार्दूल विक्रीडित
लेख्दा कागज रुन्छ ए कवि तिमी लेख्छौर गाँठी कुरा ?
बस्दा मौन तिमी कतै जगतमा फुक्ला र आँटी कुरा ।
मान्छेले सजिलै यहाँ जुन कुरा देख्दैन त्यो देख्दछौ
आफू ढाल बनेर वीर रसको संवेद्य नै लेख्दछौ ।।
फारो शब्दसितै बखान कसरी तिम्रो म के नै गरुँ?
लम्बेतान गरेर मान कसरी सम्मान तिम्रो गरुँ ?
झुक्ला विश्व यहाँ बनेर हलुका झुक्दैन तिम्रो शिर
बाँचुञ्जेल तिमी सधैँ मुलुकको लेख्छौ व्यथा आखिर।।
लेख्छौ मर्म छुने सगर्व कविता राष्ट्रै जहाँ बोल्दछ
पोख्छौ मार्मिक भाव काव्य रसको पीडा त्यहाँ खोल्दछ।
निष्ठा सत्य छ लोकमा अटल छौ बाँच्छौ तिमी सादगी
गर्छौ पौरख काव्य ज्ञान लेखनी फुल्छौ बनी माधवी।।
खेप्दै चोट अभावका अमिर ऊ साहित्य सम्राट हो
सत्ता हाँक्छ विवेकले सकलमा ऊ नै दरो साध्य हो।
उज्यालो मणि झैँ सधै गगनमा चम्की बसेका कवि
डुब्ला घाम बरू कतै गगनमा डुब्दैन तिम्रो छवि ।।
— सिद्धार्थनगर, रूपन्देही
