कविता : काल पल्क्यो होशियार !!
— नारद गाैतम
छन्द : शार्दूल विक्रीडित
तोडेको छ नि बुद्धमूर्ति जसले एक्लो कसै छैन ऊ ।
छन् निर्देशन सूत्रधार छ कतै सन्जाल देखिन्न ऊ ।।
यो नै अन्त्य नसम्झ , आक्रमणको आरम्भ हो खेद छ ।
होस् अन्वेषण सूक्ष्मसाथ खतुकी यस्को कता फेँद छ ।।
तोडिन्छन् अब अन्त अन्त क्रमले फैलिन्छ यस्तो अब ।
हिन्दूमन्दिर बुद्धमूर्ति जति छन् फोर्छन् जता छन् सब ।।
यो नालायक काम गर्न खटिए कस्ले खटायो तनि ।
कस्को हात रहेछ प्रेरक छ को ? उघ्रोस् न पर्दा पनि ।।
यो दुस्खान्त रहस्यको छ घटना कस्ले दियो हिक्मत ।
कस्ले साहस भर्दियो त यसरी यो हो त कस्को मत ?
छन् उद्देश्य लडाउने र त्यसको जाने लिँदै फाइदा ।
यो हो धार्मिक द्वन्द्वको शुरु उनी यस्तो झिके काइदा ।।
सोचौं है गहिरो कुरा छ यसमा षड्यन्त्र छन् गुप्त छ ।
यस्को नायक को छ बस्दछ कता रु खोजे सबै खुल्दछ ।।
लागोस् है सरकार खोज्न र गरोस् लौ कारबाही कडा ।
पाओस् दण्डसजाय दुष्ट जुन होस् त्यो पापको हो घडा ।।
चोरिन्छन् अब मूर्ति मन्दिरहरू कुर्ने व्यवस्था गर ।
बढ्नेछन् हमला सबैतिर यिनी डाँका यहीँ छन् घर ।।
पाल्छन् बाहिरबाट काम छ यही संस्कार भत्काउने ।
आफ्नो हात पसाल्न पार्न बलियो यी फूल भड्काउने ।।
अन्तर्राष्ट्रिय हुन् विभूति प्रतिमा तोडे नि त्यो बुद्धको ।
यिन्ले हाँक दिए कुरा त छ नि यो सन्देश हो युद्धको ।।
आत्मा भित्र दुख्यो नि चोट गहिरो लाग्यो नि धर्क्यो मन ।
बन्नैपर्छ सतर्क आज सबले जागून् सबै चिन्तन ।।
( २०७६/४/२ मा रुपन्देहीको तिलोत्तमा न.पा.मा बुद्धको मूर्ति फोरिएको सन्दर्भ)
