कुलमानको चुस्त व्यवस्थापन, निवेदन दिएको सात दिनभित्र नयां मिटर जडानः
Investopaper, Jan 10, 2019
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले सिंगल फेजको नयाँ मिटरको लागि निवेदन दिएको सात दिनभित्र जडान गरिदिने भएको छ। प्राधिकरणले आफ्ना ग्राहकलाई सहजरूपमा सेवा दिने लक्ष्यका साथ प्रक्रिया पुगेकालाई सात दिनभित्र नयाँ मिटर दिने व्यवस्था गर्न मातहतका सबै कार्यालयलाई निर्देशन दिएको छ । यस अघि सर्वसाधारण ग्राहकले निवेदन दिएको मितिले १ देखि ३ महिना सम्ममा मात्रै नयाँ मिटर पाउने गरेका थिए।
मुलुकभर विद्युत्भार कटौतीको अन्त्यपछि प्राधिकरण विद्युत् चुहावट घटाउने, प्रशासनिक खर्च घटाउने, बाँकी बक्यौता असुल गर्ने, स्तरीय, भरपर्दो तथा सुरक्षित विद्युत् सेवा प्रदान गर्ने, ग्राहक सेवाको स्तरवृद्धि गर्ने, निर्माणाधीन जलविद्युत् तथा प्रसारण लाइनको निर्माणलाई तीव्रता दिनेलगायतका काममा केन्द्रित भएको छ ।
चुहावट नियन्त्रणका लागि प्राधिकरणले चोरी नियन्त्रण गर्ने र महसुल बक्यौता असुलीमा कडाइ गर्दै आएको छ । यस्तै प्राविधिक चुहावट नियन्त्रण गर्न काठमाडौँ उपत्यका र प्रमुख शहरी क्षेत्रमा अधिक भारवाहन क्षमताका नयाँ ट्रान्सफर्मर जडान गर्ने कार्यलाई प्रमुख प्राथमिकतामा राखिएको छ । नयाँ व्यवस्थाअनुसार सिङ्गल फेजको मिटर जलेमा वा बिग्रेमा एक दिनभित्र मर्मत गरिनेछ । यस्तै थ्रि फेजको तीन दिन र टिओडी १० दिनभित्रमा जडान/मर्मत गर्ने व्यवस्था समेत मिलाइएको छ ।
कार्यकारी निर्देशक घिसिङले ग्राहक सेवा सुधारका लागि ग्राहक सेवा सम्बन्धी प्रतिवद्धता हरेक कार्यालयमा टाँसी सोहीअनुसारको काम गर्न निर्देशन दिनु भएकाे छ। प्राधिकरणले प्रवाह गर्ने सेवामा कुनै गुनासो भएमा सम्बन्धित केन्द्र प्रमुखको मोबाइल नम्बरमा वा प्राधिकरणको जनगुनासो व्यवस्थापनको फोन नम्बर ११५० मा पनि उजुरी गर्न सकिने व्यवस्था गरिएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।
