कोरोनाभाइरस: व्यवसायीहरू आवश्यक स्वास्थ्य सामग्री आपूर्ति गर्न तयार
इन्भेष्टोपेपर। चैत्र २०, २०७६
कोरोनाभाइरसको रोकथाम र उपचारका लागि आवश्यक पर्ने सामग्रीहरू रसायन तथा मेडिकल सामान आपूर्ति गर्दै आएका व्यवसायीहरूले सरकारलाई उपलब्ध गराउन आफूहरू तयार रहेको बताएका छन्।
स्वास्थ्य मन्त्रालयले त्यस्ता सामानको खरिदका लागि यस अघि गरेको सम्झौता रद्द गर्ने निर्णय गरे लगत्तै उनीहरूको यस्तो भनाइ आएको हो। तर अन्तर्राष्ट्रिय बजारमा समेत त्यस्ता सामानको अभाव रहेको भन्दै उनीहरूले पटकपटक गरेर ती सामग्री भित्र्याउने र विमान चार्टर गर्ने प्रक्रियामा सरकारले सघाउन पर्ने बताएका छन्।
हाल आफूहरुसँग भएका सामान पहिले बोलकबोल गरिएकै मूल्यमा सरकारलाई दिने र नयाँ सामानको मूल्य भने अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा तोक्नुपर्ने अध्यक्ष घिमिरेको भनाइ छ।
अन्तर्राष्ट्रिय बजारमा अभाव

देशभर कोरोनाभाइरसको रोकथाम र उपचारका लागी आवश्यक पर्ने सामग्रीहरूको अभाव देखिएपछि सरकारले द्रुत विधिबाट सामान खरिद प्रक्रिया अगाडि बढाएको थियो। तर खरिद सम्झौता गरिएको कम्पनी, सामानको मूल्य अनि गुणस्तर माथि प्रश्न उठेपछि स्वास्थ्य सेवा विभागले उक्त सम्झौता रद्द गरेर नयाँ प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ।
योसँगै यसअघिको खरिद प्रक्रियाको विरोध गरेका नेपाली व्यवसायीहरूमाथि ती सामान आपूर्ति गर्ने जिम्मेवारी आउने देखिएको छ। सरकारको निर्णय लगत्तै छलफलमा जुटेका उनीहरूले तोकिएका सामान ल्याउन आफूहरू तयार रहेको बताएका छन्।
रसायन तथा मेडिकल आपूर्ति संघ नेपालका अध्यक्ष सुरेश घिमिरेले भने, ” यो चिकित्सकदेखि आम जनताको स्वास्थ्यको विषय भएकाले सरकारलाई सकेको सहयोग गर्न तयार रहेको र सकेसम्म एक हप्ताभित्र यहाँ केही नरोकिने गरि केही सामान ल्याउन तयारी भइरहेको बताउनु भयो।”
थप सामान आपूर्तिका लागि भने बोलपत्र आह्वान गर्न तीन दिन र सामान ल्याउन पाँच दिन दिने योजना सरकारले अगाडि सारेको छ। झण्डै एक करोड तीन लाख अमेरिकी डलरमा खरिद गर्ने भनिएका त्यस्ता सामानमा स्वास्थ्यकर्मीहरूले लगाउने व्यक्तिगत सुरक्षा सामग्री, मास्क, परीक्षण किट सहित १९ प्रकारका सामग्री छन्।
चाडोभन्दा चाडो त्यस्ता सामान सहजीकरण हुने सरकारले बताएको छ र केही दिन घरमै बसि सरकारको सुझाव र सल्लाह मानी सुरक्षित रहन आम-नागरिकलाई आग्रह गरेको छ।
