गर्मी सिजनमा सबैलाइ पसिना आउँछ, धेरै पसिना आउनु राम्राे हाे त ?
इन्भेष्टोपेपर । चैत्र १५, २०७६
गर्मीयामको शुरुवात भएपछि सबै मानिसलाइ पसिना आउँछ । पसिना आउँनु स्वास्थ्यका हिसाबले राम्रो कुरा हो । किनकी शरीर भित्र रहेका विकारहरु पसिनाको रुपमा बाहिर आउँछ । तर धेरै पसिना आउनु भने त्यति राम्राे मानिदैन ।
शरीरबाट पसिना निस्केन या कुनै कारणवस पसिना भित्रै रोकिन गयो भने कैयौं प्रकारका शारीरिक रोगहरु उत्पन्न हुनसक्छन् । अतः शरीरलाई स्वस्थ्य राख्नको लागि पनि शरीरबाट पसिना निस्किनु अत्यन्त आवश्यक छ ।
यसैले मानिस अचेल पसिना आउनेगरी साईक्लिङ, व्यायाम, जगिङ्, मोर्निङवाक या जिममा गएर पसिना निकाल्ने गर्दछन् । तर कहिलेकाहिँ आवश्यकता भन्दा बढीमात्रामा तथा बिनाकारण शरीरबाट पसिना आउनथाल्छ ।
बढी पसिना आउनलाई चिकित्सा विज्ञानमा हाईपरहाईड्रोसिस अर्थात अत्यधिक पसिना आउनु भनिन्छ । एक तथ्याङअनुसार विश्वको कुल जनसंख्याको करिब दुईप्रतिशत मानिसहरुमा हाईपरहाईड्रोसिस भएकोअनुमान गरिएको छ । सामान्यतः महिलाहरुको तुलनामा पुरुषहरुलाई धैरै मात्रामा पसिना आउने गर्दछ ।
पसिना के हो ?
छालाको भित्री सतहमा अवस्थित स्वेट ग्रन्थिबाट पसिना बन्दछ । यो ग्रन्थिको काम भने शरीरको तापक्रमलाई नियन्त्रणमा राख्नु हो । अत्यधिक गर्मीका कारण छालालाई डढ्नबाट जोगाउनुका लागि स्वेट ग्रन्थिले छालाको माथिल्लो सतहमा नुनयुक्त पानी (पसिना) उत्पन्न गर्दछ। जसलाई पसिना भनिएको हो । पसिना आफैंमा गन्धरहित हुन्छ । शरीरबाट निस्केको पसिनाको स्वाद प्रायः नुनिलो हुन्छ ।
पसिना कसरी आउँछ ?
शरीरमा पसिना आउनका विभिन्न कारणहरु छन् । वंशानुगत कारणले पनि बढी पसिना आउँछ । गर्मीमा धेरै शारीरिक श्रम गर्नु, खेलकुदको अभ्यास वा व्यायाम बढी गर्नु, तेलयुक्त मसालादार खाना बराबर खानु, कब्जियत हुँदा पनि पसिना बढी आउँछ ।
यसबाहेक कुनै शारीरिक रोग भएमा जस्तैः मलेरिया, टाइफाइड, डेंगु, ज्वरो, छातिको टिबी, रगत दुषित हुनु, एनिमिया, मानसिक तनाव, चिन्ता, घबराहट, डर, भय, आघात र कडा ज्वरोको कारण पनि बढी पसिना आउँछ । अन्य कारणहरुमा- तातो पेयपदार्थ पिउनु, खैनी, गुट्खा, काँचो सुपाडी तथा नशालु पदार्थको सेवनगर्नु । यसैप्रकार शरीरिक रुपले अत्याधिक मोटोहुनु तथा थाइराइड ग्रन्थि शरीरको ईम्युनो सिस्टमको कारण बढी सक्रिय भयो भने पनि व्यक्तिलाई धैरै पसिना आउने हुन्छ ।
बढी पसिना आउन नदिन के गर्ने ?
शरीरमा बढीपसिना आउन न दिनका लागि सबभन्दा राम्रो उपाय हो शरीरलाई शीतल राख्नु हो । यसको लागि घाम चर्किएको बेला घाममा ननिस्किने, दौडधुप र व्यायम कम गर्ने, शीतलमा बस्ने, नियमित नुहाउने, सरसफाइमा विशेष ध्यान दिने, पानी प्रशस्त मात्रामा खाने, आफ्नो खानामा हरियो साग-सब्जीकासाथै दही, मही, तथा मौसमअनुसारको पानीयुक्त फलफूलहरु तरबुजा, खरबुजा, काँक्रो बढीमात्रामा खाने, नरिवल पानी पिउने, चिया, कफि, बरफको सेवन नगर्ने, राति अबेरसम्म नबस्ने, धैरे बेर भोको नरहने, बढी मसालादार खाना नखाने, खानामा लसुन, अदुवा , गोलमरीचको प्रयोग कम गर्ने र प्याजको मात्रा बढाउने गरियो भने अत्याधिक आउने पसिनाको मात्रालाई घटाउन सकिन्छ ।
केही मानिसहरु बढी पसिना आउने डरले पानी कम पिउने गर्दछन् । यो राम्रो होईन, पानीको मात्रा शरीरमा कम भयो भने डिहाईड्रेसन हुनसक्छ । यी सबै उपायहरुलाई मनन गरी अपनाइयो भने केही हदसम्म बढी पसिना आउने समस्यालाई घटाउन सकिन्छ । उपर्युक्त विधिको पालन गर्दा पनि शरीरमा पसिनाको मात्रा सामान्य भएन भने चिकित्सकको सल्लाहमा औषधिको सेवन गर्नुपर्छ ।
— एजेन्सीकाे सहयाेगमा
