चक्रपथकाे कोटेश्वर–कलङ्की सडक हस्तान्तरण, कहिले बन्छ त कलङ्की-महाराजगञ्ज खण्ड ?
काठमाण्डाै, माघ १४ गतेः चीन सरकारले गत महीना निर्माण सम्पन्न गरेकोे कोटेश्वर–कलङ्की सडक नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयमा आज आयोजित ‘चिनियाँ सहयोगमा निर्माण भएको काठमाडौँ चक्रपथ सुधार परियोजना हस्तान्तरण कार्यक्रम’ मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि चीनका राजदूत हउ याङ्चीले साँचो दिँदै सो सडक हस्तान्तरण गर्नुभयो । सो अवसरमा उहाँहरुले संयुक्तरुपमा सडकको उद्घाटन पनि गर्नुभएको छ ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच समस्यारहित र अनुपम सम्बन्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सडक, कृषि, शिक्षा, स्वास्थ्यलगायतका धेरै क्षेत्रमा चीन सरकारले नेपाललाई सहयोग गर्दै आएको छ ।”
चक्रपथको पहिलो खण्डमा देखिएको समस्या कलङ्की– महाराजगञ्ज सडक(दोस्रो खण्ड) मा दोहोरिइन नदिने उहाँले प्रतिबद्धता जनाउनुभयो । खानेपानीको पाइप, बिजुलीको खम्बालगायत सडक निर्माणमा अवरोध भए समयमा नै हटाएर काम सञ्चालन गर्न दिन प्रधानमन्त्रीले सबै मन्त्रालय र विभागलाई निर्देशन दिनुभयो ।
समन्वयनकाे महत्वलाइ जाेडदिदै प्रधानमन्त्रीले भन्नुभयाे “तपाई ले समाधान गर्न सक्नुभएन भने मन्त्रिपरिषद्मा लैजानुहोस् ,हामी समाधान गर्छाैं”, उहाँले भन्नुभयो, “तर निर्माण कम्पनी सामान र सामथ्र्य लिएर उसै बस्नुपर्ने अवस्था आउन दिनुहुँदैन ।”


नेपालका लागि चिनियाँ राजदूत हउले निर्माण सम्पन्न भएको सडकबाट नेपाल चीनबीच सुमधुर सम्बन्ध रहेको प्रमाणित गरेको बताउनुभयो । यो सडकले चीनको नै सहयोगमा निर्माण भएको अरनिको राजमार्ग र पृथ्वी राजमार्गलाई जोडेको उहाँले उल्लेख गर्नुभयो । नेपाल र चीनका बीचमा मित्रवत् सम्बन्ध अझै बलियो बन्दै गएको पनि उहाँले औँल्याउनुभयो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारीले सबै पक्षको सहयोगका कारण सडक निर्माण सम्पन्न भएको बताउनुभयो । सडक विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले चक्रपथको दोस्रो चरणको काम चाँडो शुरु हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दोस्रो चरणको कामलाई चाँडो शुरु गरेर समयमा सम्पन्न गर्न विभाग लाग्नेछ ।” पाँच वर्ष पहिले निर्माण शुरु भएको यो सडकको निर्माण गत महीना सम्पन्न भएको थियो ।
