चैत महीनाबाट राष्ट्रिय प्रसारण लाइनमा २५ मेगावाट बिजुली थपिंदै

इन्भेष्टाेपेपर । माघ ०५, २०७७

लमजुङ । आगामी चैत महीनाबाट मुलुकमा अर्थात् राष्ट्रिय प्रसारण लाइनमा २५ मेगावाट बिजुली थपिने भएको छ । लमजुङ जिल्लाको दोर्दी गाउँपालिका–६ ढोडेनीमा लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ आयोजनाको काम चैतसम्म पूरा हुने भएपछि बिजुली थपिन लागेको हो ।     
     
 हालसम्म करीब ९८ प्रतिशत निर्माण कार्य सम्पन्न भएको यस आयोजनाले सम्भव भएसम्म फागुन अन्तिमसम्म र यदि सम्भव नभए पनि चैत महीनासम्म सबै काम सम्पन्न गर्दै बिजुली बाल्ने तयारीमा रहेको आयोजनाका प्रवर्द्धक राजेन्द्र वस्तीले बताउनु भयाे। माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले अधिकांश निर्माण कार्य सम्पन्न भइसकेको र केही प्रतिशत मात्र बाँकी रहेको आयोजनाले बताएको छ ।     
     
आयोजनाका अनुसार यस आयोजनामा यतिबेला विद्युत् गृहको काम र सबस्टेशनमा जोड्ने काम मात्र बाँकी रहेको छ । गत असोज महीनाबाट बिजुली उत्पादन गर्ने लक्ष्य राखे पनि कोभिडका प्रभावले गर्दा निर्माण कार्य तीव्ररुपमा अघि बढ्न नसक्दा बिजुली उत्पादन चैत महीनाबाट मात्र हुन लागेको आयोजनाले बताएको छ ।     
     
 यस आयोजना विसं २०७१ बाट निर्माण थालनी हुँदै आएको छ । विसं २०७४ मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइए पनि भूकम्पपछिको अघोषित नाकाबन्दी र विसं २०७६ भदौमा आएको बाढीका कारण निर्धारित समयमा निर्माण सम्पन्न हुन नसकेको आयोजनाले बताएको छ । सम्झौताअनुसार आयोजनाको निर्माण सम्पन्न गर्नुपर्ने गत चैत ३० गतेसम्म रहेको थियो ।     
     
 सो मितिभित्रै निर्माण सम्पन्न गर्न नसकेपछि गत असोजसम्म म्याद थप गरिएकामा अझै निर्माण सम्पन्न नभएपछि आगामी चैत महीनासम्म जसरी पनि आयोजनाको निर्माण कार्य सक्ने लक्ष्य रहेको उहाँले बताउनु भयाे ।

आयोजना निर्माणका क्रममा ३ अर्ब ९६ करोड रुपियाँको लगानीमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको थियो । निर्माण अवधि लम्बिँदै जाँदा ४ अर्ब ६४ करोड रुपियाँ गत असोज महीनासम्ममा खर्च हुने अनुमान गरिएकामा अझै समय थप हुँदा निर्माण कार्य सम्पन्न हुँदा अझै बढी रकम लाग्ने आयोजनाले बताएको छ ।     
     
 आयोजनाको लागत प्रतिमेगावाट १८ करोड ५४ लाख रुपियाँ लाग्ने कम्पनीको अनुमान छ । आयोजनाबाट वार्षिक १३ करोड ६७ लाख ८४ हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले बताएको छ । उहाँका अनुसार यस आयोजनामा १२ दशमलव ५ का दुई ओटा गरी २५ मेगावाटको बिजुली उत्पादन हुने भएको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *