जनरल इन्स्योरेन्सको साधारणसभा स्थगित
इन्भेष्टोपेपर । बैशाख २६, २०७८
जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको तेस्रो वार्षिक साधारण सभा स्थगित भएको छ ।बैशाख २४ गते बसेकाे संचालक समितिको ४२औं बैठकले साधारणसभा स्थगन गर्ने निर्णय गरेकाे हाे ।
कोरोना भाइरसको कारण काठमाडौं उपत्यकामा निषेधाज्ञ जारी भएको र नेपाल सरकारले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, खेलकुद, पुस्तकालय आदि संचालन गर्न नपाइने र १५ जना भन्दा बढी भेला नहुन निर्देशन जारी गरेको व्यवस्थालाई मध्यनजर राख्दै साधारण सभा स्थगित गरिएको जनाएको छ ।
कम्पनीले २०७८ बैशाख २६ गतेका दिन साधारण सभा आह्वान गरेको थियो । कम्पनीले अर्को सुचना जारी नभए सम्मको लागि स्थगित गरिएको ब्यहोरा सम्पुर्ण शेयरधनी महानुभावहरुलाई जानकारी गराएको छ ।
बार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीज्युहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालकहरुको निर्वाचन कार्यक्रम रहेको हुँदा निर्वाचन समितिले प्रकाशित गरेको निर्वाचन कार्यक्रम बमोजिम उम्मेदवारी दर्ता भएसम्मको निर्वाचन प्रक्रियालाई यथावत राखी बाँकी रहेको निर्वाचन सम्वन्धित मतदान कार्यक्रम समेत स्थगित गरिएको कम्पनीले जनाएको छ । विषम परिस्थितिमा विशेष सावधानी अपनाउन र सजक रहनको लागि सबैमा कम्पनीले आग्रह समेत गरेको छ ।
