नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि

इन्भेष्टाेपेपर । माघ ०५, २०७७

काठमाडौँ — नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा २८ वर्षीया महिला तथा ३२ र ६७ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नयाँ प्रजाति भेरियन्टको उद्गमस्थल बेलायतबाट केही समयअघि नेपाल आएकालाई निगरानीमा राखेको थियो । निगरानी राखेकामध्ये छ वटा नमूनाको सार्स कोभ–दुईको परीक्षण गर्दा नेपालमा तीन नमूना एस जीन टार्गेट नेगेटिभ पाइएको थियो । 

नयाँ प्रजातिको सङ्क्रमण हो कि होइन भनेर पुष्टि गर्न गत पुस २७ गते उनीहरुको नमूना विश्वस्वास्थ्य सङ्गठनको सहयोगमा हङकङ पठाइएकामा तीन नमूनामा सो प्रजाति पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

उक्त नमूनाको नजिता राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाई इमेलमा आज प्राप्त भएको उहाँले बताउनुभयो । “तीन जनामा बेलायतमा देखिएको नयाँ भेरियन्ट लाइनएज बि १.१.७ तथा २० बि-५०१ वाई भी वान भएको पुष्टि भएको छ”, डा गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उनीहरुमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुषमा कोरोना नेगेटिभ भइसकेको छ भने ६७ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिए पनि कुनै लक्षण भने नदेखिएको मन्त्रालयले जनाएको छ । 

नेपालमा कोरोनाको भ्याक्सिन उपलब्ध नहुञ्जेलसम्म उच्च सावधानी अपनाउन मन्त्रालयले सबैमा अनुरोध गरेको छ । “सकेसम्म भीडभाडमा नजाने, जानु परे पनि दुई मिटरको दूरी कायम राख्ने, बाहिर जाँदा अनिवार्यरुपमा मास्क लगाउने र साबुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्नु नै मुख्य रोकथामको उपाय भएकाले यसलाई अपनाउन सबैमा अनुरोध छ”, डा. गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *