पशुपतिमा किरियापुत्री सेवा बन्द, काजकिरियामा समस्या

 रासस । वैशाख ०८, २०७७ 

काठमाडौँ । पशुपति क्षेत्रमा रहेका किरियापुत्री घर कोरोना भाइरसको सन्त्रासका कारण बन्द गरिँदा काजकिरियामा असहज भएको किरियापुत्रीले गुनासो गरेका छन् ।

धनुषाका विमल गौतम आइतबार राति आमाको निधन भएपछि दाहसंस्कारका लागि आज बिहान पशुपति पुग्नुभयो । विद्युतीय शवदाहगृहमा दाहसंस्कारपछि पशुपतिमै किरिया बस्न किरियापुत्री घरका विषयमा बुझ्दा एक सातादेखि सेवा बन्द भएको जानकारी पाएको उहाँ बताउनुहुन्छ ।

गौतम मात्र होइन एक सातादेखि पशुपति क्षेत्रमा किरियापुत्री सेवा खोज्दै आउनेले यस्तै दुःख पाएको गुनासो गर्ने गरेका छन् । गौतमका आफन्त बिहानभर किरियापुत्री सेवा दिने स्थल खोज्दै मध्यबानेश्वर पुग्नुभयो । गौतमका दुवै दाजुभाइ राजधानीमा कोठामा बस्ने भएकाले काजकिरिया गर्ने स्थलको समस्या भयो ।

राजधानीमा घर हुनेले पनि आफूलाई चाहिनेबाहेकका कोठा भाडामा लगाउने गरेकाले तत्काल खाली हुँदैन । यसैले घरधनीको रोजाइ पनि किरियापुत्री घर नै हुन्छ । पशुपतिको अत्यावश्यक एवं अतिसंवेदनशील यो सेवा बन्द हुँदा धेरैले गुनासो गर्ने गरेका छन् ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकाल किरियापुत्री बसेका मानिसलाई भेट्न धेरै आफन्त आएर समस्या भयो भनी सँगै बसेका अरु किरियापुत्रीले गुनासो गर्न थालेपछि सेवा बन्द गर्न बाध्य हुनुपरेको बताउनुहुन्छ ।

“किरियापुत्रीलाई भेट्न आउनेलाई नआऊ भन्न सकिएन, संवेदनशील ठाउँ भएकाले कसैलाई आऊ कसैलाई नआऊ भन्नुभन्दा बाध्य भएर केही दिनलाई कोरोना भाइरसको सङ्क्रमण नफैलियोस् भनी सेवा बन्द गरेका हौँ, यसबाट आम मानिसमा पर्न गएको असुविधाप्रति कोष क्षमा माग्छ”, उहाँले भन्नुभयो ।

पशुपतिको राजराजेश्वरीमा किरियापुत्री सेवाका लागि ४२ कोठाको व्यवस्था गरिएको छ । २२ कोठा ‘एट्याच बाथरुम’सहितका छन् । जसमा दैनिक रु ५०० शुल्क लिइन्छ । २० वटा कोठामा ‘एट्याच बाथरुम’ को व्यवस्था छैन । यी कोठामा भने दैनिक रु २०० शुल्क लिइने गरेको पशुपति घाट सेवा प्रमुख कुमार थापा मगरले राससलाई जानकारी दिनुभयो ।

“एउटा किरियापुत्रीले राडी मण्डीलगायत सामग्री प्रयोग गरिसकेपछि धोएर अर्कोलाई दिने व्यवस्था थियो, बन्दाबन्दीका कारण धुने सेवा दिने कम्पनीका कामदार आउन नसक्ने भए, नधोइकन अर्कोलाई दिन नसकिनेलगायत स्वास्थ्यसम्बन्धी असुरक्षाका कारण सेवा बन्द गर्न माथिबाट आदेश आएअनुरुप गरेका हौँ”, उहाँले भन्नुभयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *