पहाडमा खेलिने सराय नाच सहर झर्दै

न्भेष्टाेपेपर । कात्तिक २, २०८१

बुटवल ।  लुम्बिनी प्रदेशका पहाडी जिल्लाबाट तराईमा बसाइँसराइ गर्नेले आफूहरूसँगै सराय संस्कृतिसमेत लिएर आएका छन् । खास गरी गुल्मी, अर्घाखाँची, पाल्पा र प्युठान जिल्लाबाट रुपन्देहीका विभिन्न स्थानमा बसाइँसराइ गरेकाले पहाडका महत्वपूर्ण संस्कृतिसँगै लिएर आएका छन् । 

जसको फलस्वरूप बडादसैँपछि कोजाग्रत पूर्णिमाको दिनसम्म पहाडी क्षेत्रका कोतघरलगायतका स्थानमा प्रदर्शन गरिने सराय नाचको रौनक रुपन्देहीमा विभिन्न स्थानमा देखिएको छ । 

बुटवल उपमहानगरपालिका वडा नं १३ को जितगढी, बुटवल ११ को देवीनगर, सैनामैनाको मुर्गिया, कलौनी, सैनामैनाकै सालझन्डी, रामापुरलगायतका स्थानमा अहिले सराय नाचको रौनक छ । 

बुटवलको जितगढीमा बुधबार भव्य रूपमा सराय नाच प्रदर्शन भएको छ भने बिहीबार बुटवल ११ देवीनगरको चौपारीमा सरायको रौनक छाएको छ ।

संस्कृतिविद् ऋषि आजादले मूलतः सराय नाच पहाडी जिल्लाका कोतघरलगायतका दुर्गा मन्दिरमा प्रदर्शन गर्ने गरिए पनि पछिल्लो समय बसाइँसराइ गर्नेले तराईका विभिन्न स्थानमा सराय नाच प्रदर्शन गर्न सुरु गरेको बताउनुभयो । 

परम्परागत हातहतियार र युद्धकलाको झल्को दिने सराय नाच दसैँको अन्तिम दिन पूर्णिमासम्म खेलिन्छ । सराय नाच व्यवस्थापन समिति बुटवल–१३ ले बुधबार भव्य रूपमा सराय नाच प्रदर्शन गरेको हो ।

लुम्बिनी प्रदेशका पर्यटन, उद्योग तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले सराय नाच कार्यक्रमको उदघाटन गर्दै सांस्कृतिक र पौराणिक महìव बोकेको सराय नाच ऐतिहासिक महत्वको स्थान जितगढीमा हुनु आफैँमा महत्वपूर्ण भएको बताउनुभयो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सराय नाचले पहाडबाट बसाइँसराइका साथसाथै संस्कृतिसमेत सरेको बताउँदै यो राम्रो पक्ष भएको बताउनुभयो ।

बुटवल उपमहानगरप्रमुख खेलराज पाण्डेले हरेक संस्कृतिको जगेर्ना गर्न उपमहानगरले सहयोग गरेको बताउनुभयो । सराय नाचमा  नेपाली सेनाको टुकडीले युद्धकौशलसहितको सराय प्रदर्शन गरेको थियो ।

सराय नाच व्यवस्थापन समितिका अध्यक्ष खिमबहादुर थापाले ऐतिहासिक लोपोन्मुख सराय नाच संरक्षणका लागि हरेक वर्ष नियमित गरिएको बताउनुभयो । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *