प्रदेश ५ मा नेपाल टेलिकमकाे पुरानाे प्रविधि विस्थापित

इन्भेष्टोपेपर । असार २६, २०७७
नेपाल टेलिकमले प्रदेश नम्बर ५ मा पहिलो पटक नवलपरासी जिल्लामा रहेको दूरसञ्चार कार्यालय बर्दघाटको पुरानो प्रविधिको तारवाला फोन (PSTN)लाई फाइबरमा आधारित एफटिटिएच सेवाले पूर्णरुपमा विस्थापित गर्ने कार्य २०७७ आषाढ २४ गते सम्पन्न गरेको छ । 

बर्दघाटमा २०५६ साल चैत्र महिनामा १५० लाइन क्षमताको सि डट एक्सचेञ्जबाट टेलिफोन सेवा शुरु गरिएकोमा २०६० सालमा १००० क्षमताको जे र्याक प्रणाली जडान गरिएको थियो । २०७२ सालमा ८९६ लाइन क्षमताको एमसान जडान गरी इन्टरनेट सेवा विस्तार गरियो । सो पश्चात ग्राहकको अत्यधिक मागका कारण ३००० लाइन क्षमताको ओएलटी एक्सचेञ्ज जडान गरीे ०७६ श्रावण २३ गतेबाट अप्टिकल फाइबरमा आधारित एफटिटिएच सेवाको वितरण शुरु गरिएको थियो । नयाँ एक्सचेञ्जबाट ग्राहकले टेलिफोन र इन्टरनेट सेवा उपयोग गर्न सक्दछन् भने कम्पनीले भविष्यमा वितरण गर्ने आइपिटिभी सेवा पनि प्राप्त गर्न सक्नेछन् ।  

सामाजिक दुरी कायम गर्दै कम्पनीको कार्यालयमा आयोजित एक कार्यक्रममा बर्दघाट नगरपालिका प्रमुख धिरज शर्मा वस्यालले बर्दघाट नगरभित्र अत्याधुनिक दूरसञ्चार सेवा उपलब्ध गराएकोमा नेपाल टेलिकमलाई धन्यवाद दिंदै ग्रामीण भेगमा पनि उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउन अनुरोध गर्नुभयो । उहाँले नगरका सबै जनतालाई सञ्चार सेवा उपलब्ध गराउनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्घता पनि व्यक्त गर्नुभयो ।

नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाका निर्देशक सूर्यनारायण मालाकारले आगामी दिनमा अझ बढी गुणस्तरीय सेवा प्रदान गर्दै निर्देशनालयभित्र पर्ने सबै स्थानहरुमा अत्याधुनिक प्रविधिका दूरसञ्चार सेवाहरु क्रमशः विस्तार गरिने बताउनु भयो ।  

नेपाल टेलिकमले मुलुकभरी हालसम्म ७० हजारभन्दा बढी एफटिटिएच लाइन वितरण गरिसकेको छ । प्राविधिक रुपले सम्भव हुने अन्य स्थानहरुमा पनि कम्पनीले सेवाको स्तरोन्नति गर्दै लैजाने छ ।
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *