भारतबाट १ लाख नेपाली दुई–तीन साताभित्र नेपाल भित्रँदै

इन्भेष्टोपेपर । जेष्ठ ०१, २०७७

काठमाडौं । भारत सरकारले लकडाउनकै बीचमा मंगलबारदेखि रेलसेवा सञ्चालन गरेलगत्तै भारतका विभिन्न राज्यमा रोजगारीका लागि गएका झन्डै १ लाख मजदुरले नेपाल भित्रने तयारी गरेका छन् । सम्भवतः दुई–तीन साताभित्र उनीहरू नेपाल आउन सक्ने जनाइएको छ ।

उनीहरू नेपाल भित्रिएसँगै सरकारले बोर्डर क्षेत्रमा व्यवस्थित क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था गर्न नसकेमा नेपालमा कोरोना भाइरसको संक्रमण भयावह हुन सक्ने चिकित्सकले बताएका छन् । भारतले आफ्ना विभिन्न राज्यमा १५ वटा रेलसेवा सञ्चालनमा ल्याएको छ ।

विशेषगरी, नेपाली मजदुर र आफ्नै देशका मजदुरलाई घर फर्काउन भारतले रेलसेवा सुरु गरेको हो । भारतमा कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गइरहेको छ ।

नेपालका विभिन्न जिल्लाबाट भारतका उत्तर प्रदेश, विहार, उडिसा, गुजरात र महाराष्ट्रमा रोजगारीका लागि गएका नेपाली मजदुरले स्वदेश फर्कन लखनउ र नेपालनजिक पर्ने विभिन्न स्थानसम्मको टिकट बुकिङ गर्न थालेका छन् । गुजरातको अन्दाबादमा रहेका नेपाली मूलका चिकित्सक डा. सागर विश्वकर्माका अनुसार भारतले केही समयका लागि रेलसेवा खुलाएलगत्तै धेरै नेपाली स्वदेश फर्कने तयारीमा छन् ।

‘धेरै नेपालीले लखनउसम्मको टिकट बुकिङ गरिसकेका छन् । अबको दुई–तीन साताभित्र उनीहरू नेपाल आउने तयारीमा छन्,’ डा. विश्वकर्माले राजधानीसँग भने । उनका अनुसार ती नेपाली लखनउ र अन्य स्थानको टिकट काटेर जनकपुर, नेपालगन्ज र वीरगन्ज हुँदै नेपाल प्रवेश गर्ने तयारीमा छन् ।

कोरोना भाइरससम्बन्धी अध्ययन गरिरहेका नेपाली चिकित्सक डा. रमेशकुमार आचार्यले भारतबाट तीन साताभित्रमा १ लाख मजदुर नेपाल भित्रने तयारी गरिरहेको बताए । उनले स्वदेश फर्कन खोज्ने ती नेपाली मजदुरलाई सीमा क्षेत्रमा नै क्वारेन्टाइन र आइसोलेसन बनाएर व्यवस्थापन गर्न नसकिएमा नेपालमा संक्रमणको दर भयावह रूपमा बढ्ने बताए । याे समाचार आजकाे राजधानी दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *