भारतमा कोरोना संक्रमितकाे संख्या अप्रत्याशितरूपले बढ्दा अक्सिजनको चरम अभाव

इन्भेष्टोपेपर । बैशाख ५, २०७

नयाँदिल्ली । कोरोना महामारीको दोस्रो लहर शुरु भएलगत्तै संक्रमितसँगै मृत्यु हुने संख्या बढेपछि भारतको मेडिकल सुविधा यतिखेर असमन्जसमा परेको छ ।  

नयाँदिल्ली लगायत भारतका कैयन शहरमा यतिखेर अक्सिजन ग्यासको अभाव भएको छ । कोरोना संक्रमितको संख्यामा अप्रत्याशित बढोत्तरी भएपछि त्यहाँका सरकारी तथा नीजि अस्पतालहरुले अक्सिजन ग्यासको चरम अभाव झेलिरहेका छन् ।  

चरम अभावकै समयमा त्यहाँ अहिले विलेरी अक्सिजन कम्पनी प्रालि(बीओसी) यतिखेर सवैको तारो भइरहेको छ ।कम्पनीले पर्याप्त मात्रामा अक्सिजन ग्यास उत्पादन गर्न नसकेको भन्दै त्यहाँका स्वास्थ्य अधिकारीसमेत रुष्ट बनेका छन् । जसले विभिन्न अस्पतालहरुलाई अक्सिजन तथा कम्पनीलाई औद्योगिक ग्यास उत्पादन गरी वितरण गर्दै आएको छ ।  

विगत तीन महीनामा उक्त कम्पनीको शेयर मूल्य दोब्बरले बढेको भारतीय टेलिभिजन च्यानलहरुले बताएका छन् । उक्त कम्पनीले भारतका विभिन्न अस्पतालमा प्रतिदिन २०० टन मेडिकल अक्सिजन वितरण गर्ने गरेको छ ।

भारतका विभिन्न अस्पतालमा भर्ना भएका कोरोना संक्रमितहरुलाई अक्सिजन अभाव हुँदा मृत्यु हुने जोखिम बढेको बीबीसीले बताएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले भेन्टिलेटरमा राख्नुपर्ने भन्दा पनि सङ्क्रमितलाई अक्सिजनको अभाव धेरै हुने हुँदा अक्सिजन उत्पादनका लागि विभिन्न उद्योगहरुलाई पूर्ण  क्षमतामा उत्पादन गर्न निर्देशन दिइएको बताएको छ ।

यसैवीच दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आइतवार आयोजित पत्रकार सम्मेलनमा दिल्लीमा कोरोना संक्रमितका लागि १०० ओटाभन्दा कम आईसीयू  कक्ष खाली रहेको बताएका छन् ।

उनले संक्रमितको उपचारलाई ध्यानमा राख्दै आईसीयू बेड थप गर्ने बारेमा सोचविचार गरिरहेको पनि बताएका छन् ।पछिल्लो २४ घण्टामा दिल्लीमा २४ हजार ३७५ जना नयाँ संक्रमितहरु थपिएका छन् । अवको दुई तीन दिनमा ६ हजार अक्सिजन युक्त कक्ष निर्माण गर्ने तयारी भइरहेको पनि उनले बताए ।

भारतमा शनिवार मात्रै १५ लाख ६६ हजार ३९४ जनाको कोरोना परिक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिलले बताएको छ ।  अप्रिल १७ सम्म कुल २६ करोड ६५ लाख ३८ हजार ४१६ जनाको कोरोना परिक्षण गरिएको पनि काउन्सीलले उल्लेख गरेको छ ।     

कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्को तर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ ।     

भारतमा अहिलेसम्म १२ करोड २६ लाख २२ हजार ५९० ओटा खोप खपत भएको छ । भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सीन र स्पुट्नीक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायहरुले बताएका छन् ।     
रुसले विकास गरेको स्पुट्नीक भी भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको छ । (एजेन्सी )

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *