भौतिक पूर्वाधारकाे बजेट कटाैती हुन सक्ने

इन्भेष्टोपेपर । वैशाख २५, २०७७ 

काठमाडौ । कोरोना महामारी (कोभिड १९)को असर मुलुकको भौतिक विकासमा समेत पर्ने भएको छ । महामारीका कारण भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेटमा कटौती हुने देखिएको छ ।

महामारीका कारण सरकारको लक्षित राजस्व सङ्कलनका साथै वैदेशिक ऋण तथा अनुदान सहयोगमा समेत कमी आउने देखिएको छ । विगतको तुलनामा आर्थिक वर्ष २०७७÷७८ को कुल बजेटको आकार नै सानो हुने भएकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटमा समेत कमी आउने देखिएको सो मन्त्रालयले जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङका अनुसार कोरोना महामारीका कारण चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेटको आकार सानो हुनेछ । बजेटको आकारमा कमी आउने भएकाले आर्थिक वर्ष २०७७÷७८ मा नयाँ कार्यक्रम थप हुने सम्भावना कम रहेको उहाँले स्पष्ट पार्नुभयो ।

आगामी आर्थिक वर्षमा मन्त्रालयको बजेट तथा कार्यक्रमबारे मन्त्रालयले घनिभूत रूपमा छलफल अगाडि बढाएको बताउँदै उहाँले आव २०७७÷७८ को ‘बजेट सिलिङ’ अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । आर्थिक वर्ष २०७६÷७७ को कुल बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड रुपियाँ रहेकामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको एक खर्ब ५६ अर्ब रुपियाँ बजेट विनियोजन गरिएको थियो ।

आर्थिक वर्ष २०७७÷७८ को लागि करिब एक खर्ब ८२ अर्ब रुपियाँको ‘बजेट सिलिङ’ तयार गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता सरोजकुमार प्रधानले जानकारी दिनुभयो । ‘बजेट सिलिङ’अनुसारको बजेट विनियोजन हुनसक्ने सम्भावना नरहेको उहाँले स्पष्ट पार्नुभयो ।

मन्त्रालय स्रोतका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि ८० अर्बदेखि बढीमा एक खर्ब रुपियाँसम्म बजेट विनियोजन हुनसक्ने सम्भावना छ । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *